सुदूर नेपाललाई विश्वसँग जोड्दै

“भोलि धनगढीमा लागुऔषध विरुद्ध म्याराथन दौड आयोजना हुदै

लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले भोलि धनगढीमा “रन फर ड्रग्स फ्री सोसाइटी” नारासहित म्याराथन दौड आयोजना हुँदैछ।

२०८३ वैशाख १७, ११:३० खबर संवाददाता

धनगढी:  लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित धनगढीमा भोलि म्याराथन दौड आयोजना हुने भएको छ। “लागुऔषधमुक्त समाजका लागि दौड” नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम २०८३ साल वैशाख १८ गते बिहान ६ बजे सुरु हुनेछ।

जेसिज धनगढीको आयोजनामा सञ्चालन हुने म्याराथन धनगढी रंगशालाबाट प्रारम्भ हुने आयोजकले जनाएको छ। कार्यक्रम जेसिज हाफ म्याराथनको १२औँ संस्करणका रूपमा आयोजना हुन लागेको हो।

करिब २१ दशमलव १ किलोमिटर दूरी तय गरिने उक्त म्याराथनमा विभिन्न उमेर समूहका धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। दौड समापन तथा पुरस्कार वितरण कार्यक्रम पनि धनगढी रंगशाला परिसरमै हुने जनाइएको छ।

कार्यक्रम संयोजक दीपेश बोहराका अनुसार समाजमा बढ्दो लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्नु र युवाहरूलाई स्वस्थ तथा सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्नु म्याराथनको मुख्य उद्देश्य रहेको छ।

म्याराथनमा सहभागी हुन चाहनेहरूका लागि दर्ता फाराम धनगढी रंगशाला परिसरबाट उपलब्ध गराइनेछ। आयोजकले सबै खेलप्रेमी, युवा तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस