धनगढीमा नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम सुरु
धनगढी: नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको सुरुवात गरेको छ।
ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप अन्तर्गत सुरु गरिएको यस दुई महिने कार्यक्रमको धनगढीले आइतबार एक समारोहका बिच ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले समुद्घाटन गरे। धनगढी उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित यस तालिमको कार्यान्वयन टिकापुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ।
यस महत्त्वपूर्ण शैक्षिक तथा प्राविधिक कार्यक्रमलाई काठमाडौँ विश्वविद्यालयले प्राविधिक सहयोग र ब्रिटिस काउन्सिलले आर्थिक सहयोग पु¥याएका छन्। तालिममा नगरका फोहोर व्यवस्थापन कर्मचारी र स्थानीय विद्युतीय व्यवसायी गरी कुल २० जना सहभागी रहेका छन्।
तालिमको पाठ्यक्रम र सिकाउने विधिका बारेमा जानकारी दिँदै सिटिटिइभिटी टिकापुरका पारस खड्काले यसलाई पूर्णतः व्यवहारिक बनाइएको बताए। दुई महिनाको अवधिमा प्रशिक्षार्थीहरूले विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणहरूलाई वातावरणीय र सुरक्षाका मापदण्ड अनुरूप कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्ने बारेमा विस्तृत ज्ञान पाउनेछन्।