धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने
धनगढी: धनगढीमा १२औँ संस्करणको हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८ गते प्रतियोगिता हुन लागेको हो।
हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको दौड यस पटक वैशाख १८ गते सारिएको धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाले जानकारी दिए। “अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ प्रतियोगिताको तीव्र तयारी भइरहेको उनले बताए।
२१.१ किलोमिटरको हाफ म्याराथनतर्फ प्रथम हुनेले ७७ हजार ७ सय ७७, दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक दीपेश बोहराले जानकारी दिए। उनका अनुसार यो संस्करण अहिलेसम्मकै भव्य रूपमा आयोजना गरिनेछ।
वैशाख १८ गते बिहान ६ बजे धनगढी रंगशालाबाट सुरु हुने दौडको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम छ। दौड रंगशालाबाट गेटा मेडिकल कलेज हुँदै पुनः रंगशालामै टुंगिनेछ।
प्रतियोगितामा ५ किलोमिटर महिला दौड तथा कर्पोरेट दौड पनि समावेश गरिएको छ। ती दुवै विधातर्फ विजेताले ७ हजार ७ सय ७७, दोस्रो हुनेले ५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउनेछन्।
यस पटकको हाफ म्याराथनलाई लागूऔषधविरुद्धको अभियानका रूपमा लिइएको आयोजकले जनाएको छ। सबैभन्दा धेरै रक्तदान गर्ने दीपक उपाध्यायलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। साथै सहभागीमध्ये एक जनालाई चिट्ठामार्फत पुरस्कार प्रदान गरिने र निसर्ग अस्पतालले गोलाप्रथाबाट छनोट भएका तीन जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।