नेपाल र भारतका सहरको फोहोरले महाकाली नदी प्रदूषित
बैतडीः नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीमा दुई देशका छ वटा सहरको डम्पिङसाइटको फोहोर सिधै थुप्रन थालेको छ । नदीमा प्लास्टिक, अलमुनियम र सिसाजन्य फोहोरसमेत फाल्ने गरिएको छ । नदीमा भारततर्फको धारचुलादेखि बनवासा र टनकपुरको सहरी फोहोर र नेपालको दार्चुला, बैतडीदेखि कञ्चनपुरसम्मको फोहोर महाकाली नदीमै मिसिने गरेको छ ।
फोहोरका कारण पवित्र नदीको पारिस्थितिक प्रणाली र तटीय क्षेत्रका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको एक अध्ययनले देखाएको छ । यति मात्रै होइन, महाकालीमा पाइने ‘गोल्डेन महाशिर’ प्रजातिको माछाको जीवनचक्र सङ्कटमा परेको छ । महाकालीमा फुल पारेर भुरा हुर्काउने वयस्क ‘गोल्डेन महाशिर’ को तौल ५० किलोसम्म हुने गरेको छ ।
यो माछा नेपालतर्फ खुला भए पनि भारततर्फ भने सिकार गर्न नपाइने गरेर प्रतिबन्ध लगाइएको भारतीय नागरिक प्रमोद भट्टले जानकारी दिए। यद्यपि, नदीमा फालिने प्लास्टिक र सिसाजन्य फोहोरले यो प्रजातिको जीवनचक्र सङ्कटमा परेको उनले बताए।
नदीतटीय क्षेत्रमा महाकालीको पानीको उपभोगसम्बन्धी काम गर्दै आइरहेको गैरसरकारी संस्था रुडेस बैतडीले नदीको पानीमा पछिल्लो समय छारीयपन बढेको जानकारी दिएको छ । संस्थाका कार्यकारी निर्देशक गोविन्दराज जोशीले महाकाली नदीमा दुई देशका सहरको फोहोर थुप्रँदै गएको बताए।
उनले भने, “नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार पिउन योग्य पानीको अम्लीयपन (पिएच) मान ६.५ देखि ८.५ को बिचमा हुनु पर्छ । महाकालीको पानीमा ७.५ पिएच छ । मापदण्ड अनुसार अम्लीयपनको मान ठिकै देखिए पनि, महाकालीको पानी सिधै पिउन योग्य छैन । नदीमा सिधै मिसाइने ढल, बजारको फोहोर र रासायनिक तत्वका कारण यसमा हानिकारक कीटाणु र अन्य मलमुत्रको प्रदूषणको मात्रा उच्च रहेको छ ।”
नदी तटीय क्षेत्रका मानिसले महाकालीको पानी पिउने गरेकाले पानीको गुणस्तर जाँच गरेको उनले बताए । संस्थाले दशरथ चन्द नगरपाकिला–१०, तिरखडेनी र बुर्किल गाउँमा महाकालीको पानी तानेर सिँचाइ र घरायसी उपभोगका लागि प्रयोगमा ल्याएको छ ।
संस्थाले बैतडीको दशरथ चन्द नगरपालिका–६, सेरा, ८ नम्बर वडाको झुलाघाट र १० नम्बर वडाको तिरखडेनी र पचेश्वर गाउँपालिका–४ को विनायकमा महाकालीको नदीको पानी सदुपयोगसम्बन्धी काम गरेको बताएको छ ।
महाकाली नदीमा नेपालतर्फको दार्चुला र भारतको धारचुला सहरको ढल र बजारबाट निस्कने ठोस फोहोर सिधै महाकाली फालिन्छ । बैतडीको झुलाघाट र सेरा (नेपाल र भारत) दुवै देशका पसल र होटेलको फोहोर पनि नदी किनारमै फाल्ने गरिएको छ । त्यसै गरी कञ्चनपुर र भारतको उत्तराखण्ड राज्यको तल्लो तटीय क्षेत्र वनबासा र टनकपुरको फोहोर पनि महाकालीमै मिसिने गरेको छ ।
नेपाल र भारतमा छ वटा प्रमुख सहरको फोहोर सिधै महाकाली नदीमा फाल्दा दिनप्रतिदिन नदी प्रदूषित बन्दै गएको बैतडीका स्थानीयवासी हिम्मत चन्दले बताए। उनले महाकालीमा डम्पिङ साइटको फोहोर र शौचालयका ढल मिसाउनेमाथि दुवै देशका सरकारले कारबाही गर्नुपर्ने बताए। (गाेरखापत्र)