खोपबाट छुटेका बालबालिकाका लागि देशभर ‘खोज र खोप’ अभियान
काठमाडौँ: सरकारले वैशाख महिनाभर नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार पाँच वर्षमुनिका खोप छुटेका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न यो अभियान अघि बढाइएको हो।
यस अभियानमार्फत १५ महिनासम्म लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप प्रदान गरिनेछ।
सरकारले गत मङ्सिर र पुस महिनामा खोप छुटेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिसकेको छ। हाल नेपालमा करिब ९० प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छन् भने १० प्रतिशतले सबै खोप लगाएका छैनन् र करिब एक प्रतिशत बालबालिका अझै खोपबाट वञ्चित छन्।
जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई रोग, अपाङ्गता र मृत्युबाट जोगाउन नियमित खोप दिइने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार खोप कार्यक्रमको प्रभावकारिताले नेपालमा सन् १९९६ मा प्रति हजार ११८ रहेको पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् २०२३ मा घटेर २६.५ मा झरेको छ।
केही जिल्लामा खोप छुटेका बालबालिकाको सङ्ख्या बढेसँगै दादुरा–रुबेला संक्रमण फैलिन थालेपछि सरकारले यो अभियानलाई तीव्रता दिएको हो।