सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेलौलीवासीको सास्ती: ५० वर्षदेखि घर बैतडीमा, कर तिर्न डडेलधुरामा धाउनुपर्ने

२०८३ वैशाख ८, ०२:५५ खबर संवाददाता

बैतडीः सरकारी लापर्बाहीका कारण बैतडीको एक वडाका बासिन्दाले मालपोत र घर कर तिर्न डडेलधुरा जानुपर्ने बाध्यता झेल्दै आएका छन् । यो समस्या करिब ५० वर्षदेखि निरन्तर चलिरहेको छ ।

मेलौली नगरपालिका–८ का पाँच सयभन्दा बढी घरपरिवार २०३२ सालदेखि जग्गाको मालपोत कर बुझाउन डडेलधुरा धाउन बाध्य छन् । स्थानीय तहको पुनर्संरचना भए पनि यो समस्या समाधान हुन सकेको छैन । सरकारी टोलीको लापर्बाहीका कारण वडासँग सम्बन्धित लालपुर्जाको श्रेस्ता डडेलधुरामै रहेकाले विशालपुर क्षेत्रका किसानले कर तिर्न, कृषि फर्म दर्ता गर्न र चारकिल्ला प्रमाणितजस्ता कामका लागि डडेलधुरा जानुपरेको छ ।

स्थानीय बासिन्दाले चुनावमा भने बैतडीकै उम्मेदवारलाई मतदान गर्दै आएका छन् । वडावासीको मतदाता नामावली पनि बैतडीमै रहेको छ । तर भोट बैतडीमा दिए पनि जग्गा कर र कारोबारका लागि डडेलधुरा जानुपर्ने बाध्यता कायमै रहेको मेलौलीका युवा महेशदत्त भट्टले बताए। 

उनका अनुसार समस्या समाधानका लागि पटक–पटक प्रदेश सरकार हुँदै सङ्घीय राजधानी काठमाडौँसम्म धाउँदा पनि सुनुवाइ भएको छैन । तल्लोस्वराड क्षेत्रअन्तर्गत मेलौली नगरपालिका–८ मा पर्ने साविक विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडाका पाँच सयभन्दा बढी घरपरिवारले हालसम्म पनि डडेलधुराको भागेश्वर गाउँपालिका–३ स्थित वडा कार्यालयमा मालपोत कर बुझाउँदै आएको वडाअध्यक्ष तपेन्द्र विष्टले जानकारी दिए। (गाेरखापत्र)
 

कमेन्ट लोड गर्नुस