सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सालका पातबाट आत्मनिर्भर बन्दै सुनितादेवी

२०८३ वैशाख ६, ०५:५९ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–६ जालीकी सुनितादेवी चौधरीले सालका पातबाट दुना–टपरी बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल भएकी छन्। विगत २० वर्षदेखि धनगढीका विभिन्न चोक हुँदै हाल त्रिनगर कृषि उपज हाटबजारमा व्यवस्थित रूपमा पात बिक्री गर्दै आएकी उनी अहिले नियमित आम्दानी गर्दै घरखर्च र बचत दुवै गर्दै आएकी छन्।

सुनिताले भाउजुबाट दुना–टपरी बनाउने सीप सिकेपछि यो कामलाई व्यवसायिक रूपमा अघि बढाएकी हुन्। धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा प्लास्टिक प्रतिबन्ध गरेपछि कागज तथा पातका सामग्रीको माग बढ्दा उनको आम्दानी पनि बढेको छ।

उनका अनुसार विवाह, व्रतबन्ध, पूजा तथा अन्य धार्मिक कार्यका लागि ग्राहकहरू नियमित रूपमा सालका पातबाट बनेका दुना–टपरी किन्न आउने गरेका छन्। उनी समूह बनाएर जंगलबाट सालका पात संकलन गर्ने र त्यसलाई प्रशोधन गरी बिक्री गर्दै आएकी छन्।

धनगढी उपमहानगरपालिकाले हाटबजारमा स्थान उपलब्ध गराएपछि बिक्री सहज भएको सुनिताको भनाइ छ। उनी आइतबार, मंगलबार र शुक्रबार गरी हप्तामा तीन दिन त्रिनगर हाटबजारमा बिक्रीका लागि आउने गर्छिन्।

सुनितासँगै अन्य महिलाहरू पनि पात र दुना–टपरी बिक्रीमा संलग्न छन्। यसले स्थानीय महिलाहरूलाई रोजगारी र आयआर्जनको अवसर प्रदान गरेको छ।

सुनिताले आफूले कमाएको आम्दानीबाट घर खर्च चलाउनुका साथै केही रकम सहकारीमा समेत बचत गर्ने गरेकी छन्। उनले महिलाहरूलाई कुनै न कुनै उद्यममा लाग्न आग्रह गर्दै परिवारसँगै बसेर सानो व्यवसाय गर्दा विदेश जानुपर्ने बाध्यता कम हुने बताएकी छन्।

उपमहानगरपालिकाले महिलालाई उद्यमशील बनाउन विभिन्न तालिम तथा हाटबजारमा स्थान उपलब्ध गराउँदै आएको छ। हाल धनगढीमा सालका पात तथा दुना–टपरीको माग बढ्दो क्रममा रहेको छ।
 

कमेन्ट लोड गर्नुस