कञ्चनपुरमा लागूऔषधसहित ६ जना पक्राउ, मोटरसाइकलसमेत नियन्त्रणमा
कञ्चनपुर: कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बेलुका जिल्लाका अलग–अलग स्थानमा गरिएको चेकजाँचका क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थ र अन्य औषधिसहित उनीहरू पक्राउ परेका हुन्।
बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रमा प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा पुनर्वास नगरपालिका–३ बस्ने २४ वर्षीय विजय गिरीले चलाएको सुप्रप्र ०१–०१३ प २६८१ नम्बरको मोटरसाइकलबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ तथा ५ पिस ट्रमाडोल क्याप्सुल फेला पारेको थियो। सोही मोटरसाइकलमा सवार २१ वर्षीय अमन तामाङ र २४ वर्षीय रोहन विकलाई समेत नियन्त्रणमा लिइएको छ।
यसैगरी, पुनर्वास नगरपालिका–५ पैसठ्ठी बिघा क्षेत्रमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक २० वर्षीय रोहन तामाङ र पछाडि सवार २२ वर्षीय वीरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरी पक्राउ गरेको छ।
त्यसैगरी, कृष्णपुर नगरपालिका–९ राजघाटबाट ३१ वर्षीय अनिल रानालाई ५८ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको टोलीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेका सबैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।