सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु

२०८३ वैशाख ४, ०९:१५ नारायण अवस्थी

धनगढी : गणतन्त्र स्थापनापछि कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय युवाहरूले पुनः “महेन्द्रनगर नगरपालिका” नाम कायम गर्न माग गरेका छन्।

महेन्द्रनगरका सुजित श्रेष्ठ र अमृतकुमार जोशी लगायतका युवाहरूको अगुवाइमा सञ्चालन गरिएको हस्ताक्षर अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको हो। अभियानमार्फत स्थानीय बासिन्दाको समर्थन संकलन गरी नाम पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्ने उद्देश्य रहेको अभियानकर्ताहरूले बताएका छन्।

अभियान एक महिनासम्म सञ्चालन गरिने र यस अवधिमा संकलित हस्ताक्षरहरू सङ्घीय सरकारसमक्ष पेश गरिने जनाइएको छ। नाम परिवर्तनले स्थानीय पहिचान र ऐतिहासिक महत्व ओझेलमा परेको भन्दै युवाहरूले पुरानो नाम पुनःस्थापना गर्नुपर्ने धारणा राखेका छन्।

स्थानीय तहको नाम परिवर्तनको विषयले पछिल्लो समय पुनः बहस सिर्जना गरेको छ भने यस अभियानले त्यसलाई थप चर्काउने अपेक्षा गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस