टीकापुर पार्कमा एकैदिन १४ हजारभन्दा बढी पर्यटक, पौने ८ लाख राजस्व संकलन
टीकापुरः टीकापुर पार्कमा एकै दिन १४ हजारभन्दा बढी पर्यटक आएर रेकर्ड तोडिएको छ । २०८३ सालको पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले रेकर्ड तोडेको छ ।
‘२०८२ वैशाख १ गते पाँच लाख रुपियाँ राजस्व उठेको थियो,’ टीकापुर नगरपालिकाको पार्क शाखाका प्रमुख अर्जुन कुँवरले भने, ‘यस वर्ष एकैदिन १४ हजार ८३१ जना पर्यटकले पार्क प्रवेश गरेका छन् भने सात लाख ७० हजार १६० रुपियाँ राजस्व उठेको छ ।’
पार्कमा भिड बढेपछि दिउँसो २ बजेपछि बाटो नै अवरुद्ध भएको र पार्क प्रवेश नपाई अर्को बाटो भएर फर्किनु परेको टीकापुरका स्थानीय लोकबहादुर बुढाले बताए। रानी कुलामा सिङ्गल लेन पुल मात्रै भएकाले पार्क जाने पर्यटकले एक घण्टाभन्दा बढी जाममा पर्दा अत्यास लागेको बुढाको भनाइ छ ।
नगरपालिकाको राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार पार्कबाट उठ्ने राजस्व बर्सेनि बढ्दै छ । ‘आर्थिक वर्ष २०८०÷८१ मा ६४ लाख उठेकोमा आर्थिक वर्ष २०८१÷८२ मा ९३ लाख ४४ हजार रुपियाँ राजस्व उठेको थियो,” केसीले भने, ‘यस वर्ष नौ महिनाकै अवधिमा एक करोड आठ लाख रुपियाँ राजस्व उठिसकेको छ ।’ पार्कमा प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपियाँ छ ।
पार्कको सुन्दरता, ऐतिहासिकता र सँगैको कर्णाली नदीमा जलविहारले यहाँ आर्थिक तथा पर्यटकीय सम्भावना देखाइरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भने, ‘टीकापुर पार्कमा १४ करोडको डिपिआर बनाई सङ्घीय सरकारलाई अनुरोध गरिएको छ, पार्किङ, बाल उद्यान र पुराना भवनको मर्मत गर्नुपर्ने छ, केन्द्रबाट बजेट आएमा पार्क विस्तार पनि हुने छ ।’
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सिकार खेल्न पुगेका तत्कालीन राजा महेन्द्रको विसं २०२४ साल चैत २४ मा आकस्मिक हृदयाघात भएपछि काठमाडौँ फर्किने क्रममा राजा चढेको हेलिकोप्टर टीकापुरमा आकस्मिक अवतरण गर्नु् परेको थियो । घना जङ्गलका बिचमा एक महिना बसेर स्वास्थ्य लाभ भएपछि यहाँ पार्कका रूपमा विकास गर्न निर्देशन दिएका थिए। यहाँ रहेका महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम वाटिका, उद्यानमा ५० भन्दा बढी प्रकारका गुलाब रहेका र सँगैको कर्णाली नदीमा चलाइने वाटरबोटलगायतका कारण पर्यटक आकर्षित भइरहेका छन् ।