धनगढी उपमहानगरपालिकाले गर्यो प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता
धनगढी: धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ।
बुधवार नगर सभा हलमा बसेको पहिलो मासिक प्रधानाध्यापक बैठकमा कार्यसम्पादन सम्झौता भएको हो।
धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ देखि प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गर्दै आएको छ। कार्यसम्पादन सम्झौतामा प्रधानाध्यापकहरूले वर्षभरि गर्नुपर्ने काम र हासिल गर्नुपर्ने सूचक उल्लेख हुन्छन्। नगरपालिकाले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेपछि प्रधानाध्यापकहरूले विद्यालयका शिक्षकहरूसँग सोही किसिमको सम्झौता गर्ने शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए।
उनले कार्यसम्पादन सम्झौता गर्दा सिकाइ उपलब्धि हासिल गर्न र शिक्षक तथा विद्यालयले गरेको समग्र क्रियाकलापको मूल्याङ्कन गर्न सहज हुने बताए।
विद्यालयको शैक्षिक प्रगतिको लोखाजोखा गर्न र सिकाइमा स्वमूल्याङ्कन गर्न सहज होस् भनेर नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले विद्यालयका शिक्षकहरूसँग कार्यसम्पादन सम्झौता गर्ने शिक्षा महाशाखा प्रमुख बडायकले बताए।