सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगोमा त्रुटि, कर्णाली पनि सुपमै!
धनगढी: सुदूरपश्चिम प्रदेश सभाले सार्वजनिक गरेको नयाँ लोगोमा त्रुटि फेला परेको छ। प्रदेश सभा सदस्यहरूले तयार गरेको नयाँ लोगोमा कर्णाली प्रदेशको केही भूभागसमेत सुदूरपश्चिममा देखाइएको छ।
सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाले बनाएको नयाँ प्रतीकचिह्न (लोगो) मै गम्भीर त्रुटि गरिएको छ।
यसअघि भएको लोगोमा रहेको दुई वटा हिमाल हटाएर नयाँ लोगो निर्धारण गरिएको छ। तर बाजुरा भन्दा माथिको कर्णाली प्रदेशको भूभागसमेत लोगोमा समेटेर मजाक गरिएको छ।
नयाँ लोगो गोलाकार आकृतिमा आधारित रहेको छ। यसमा फिक्का खैरो रङको पृष्ठभूमिमा लोगोको दायाँ र बायाँ भागमा अर्धवृत्ताकार दुई वटा धानका बाला रहेका छन्। लोगोको केन्द्र भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिमको भागलाई पहिलो गाढा रङले सङ्केत गरिएको छ। लोगोको अग्र भागमा राष्ट्रिय झन्डा रहेको छ भने लोगोको तल्लो भागमा देवनागरी लिपीमा सुदूरपश्चिम प्रदेश सभा लेखिएको छ।
उक्त त्रुटिपूर्ण लोगो सर्वसम्मतिले स्वीकृत भएको पाइएको छ। प्रदेश सभाका सचिव देवबहादुर बोगटीले लोगो स्वीकृत भएको बताए।