धनगढीका विद्यालयमा गत वर्षदेखी नै सुरू भएको 'बुक फ्रि फ्राइडे' यस बर्ष पनि प्रभावकारी
धनगढीः गत वर्षदेखि धनगढी उपमहानगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरू शुक्रबारका दिन किताब बोकेर होइन, नयाँ सिप सिक्ने उत्साह बोकेर विद्यालय पुग्छन्।
उपमहानगरपालिकाले सञ्चालन गरेको 'बुक फ्रि फ्राइडे' कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ। यसै कार्यक्रमअन्तर्गत धनगढी-९ स्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू मोबाइल बनाउने तथा मर्मत गर्ने तालिममा व्यस्त छन्।
किताबको सट्टा स्क्रु ड्राइभर, सर्किट बोर्ड र मोबाइलका पार्ट्ससँग खेलिरहेका यी विद्यार्थीहरूले छोटो समयमै उल्लेखनीय प्रगति गरेका छन्। उनीहरूले मोबाइल रिपेयरिङका आधारभूतदेखि जटिल कामसम्म सिकिसकेका छन्—जस्तै डिस्प्ले परिवर्तन गर्ने, मदरबोर्ड मर्मत गर्ने लगायतका सिपहरू।
'विद्यार्थीहरूलाई सानै उमेरदेखि व्यवहारिक सिपसँग जोड्नु आजको आवश्यकता हो। हामीले यहाँ मोबाइलको संरचना, समस्या पहिचान गर्ने तरिका र समाधान गर्ने सिप सिकाइरहेका छौँ। छोटो समयमै विद्यार्थीहरूले राम्रो प्रगति गरेका छन्, जुन उत्साहजनक छ,'उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत घुम्मनसिंह बडायकले बताए ।
प्रशिक्षकहरूका अनुसार विद्यार्थीहरूमा सिक्ने इच्छा र लगनशीलता उच्च देखिएको छ। विद्यालयमा दिएको आधारभूत ज्ञानलाई विद्यार्थीहरूले छिट्टै आत्मसात् गरिरहेका छन्। भविष्यमा उनीहरूले यसै सिपलाई व्यवसायमा रूपान्तरण गर्न सक्ने सम्भावना पनि देखिएको उनीहरूले बताएका छन्।
विद्यार्थीहरू भन्छन्, 'यो सिपले भविष्यमा हामीलाई धेरै सहयोग गर्छ। पढाइसँगै केही गर्न सक्ने बनिरहेका छौँ, जसले आत्मनिर्भर बन्न सजिलो बनाउनेछ।'
'बुक फ्रि फ्राइडे” कार्यक्रमले परम्परागत शिक्षण प्रणालीभन्दा बाहिर निस्केर व्यवहारिक ज्ञान र सिप विकासमा जोड दिएको छ। यसले विद्यार्थीहरूलाई केवल परीक्षा केन्द्रित नभई जीवन उपयोगी सिपतर्फ उन्मुख गरिरहेको देखिन्छ। यो कार्यक्रम गत बर्ष ठेकराज माध्यमिक विद्यालयमा सञ्चालन थियो भन्ने यो बर्ष भवानी माध्यमिक विद्यालय र शिद्धनाथ माविमा सञ्चालनमा रहेको छ।
स्थानीय तहको यस्तो पहलले शिक्षा र रोजगारीबीचको दूरी घटाउँदै विद्यार्थीहरूलाई सक्षम र आत्मनिर्भर बनाउने विश्वास गरिएको छ।