सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाखोरताल र देवहरिया वन सफा राख्न एक्लै जुटेका बुद्धिराम चौधरी

२०८२ चैत्र २९, ११:१६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यान क्षेत्रमा हरेक बिहान एक अधबैँसे व्यक्ति बोरा लिएर फोहोर टिपिरहेको भेटिन्छन्। जैविक विविधताले भरिपूर्ण जाखोरतालदेखि लिएर वन क्षेत्रमा जथाभाबी फालिएका प्लास्टिकसहित सिसाको बोतल टिप्ने उनी हुन्, स्थानीय बुद्धिराम चौधरी। 

धनगढीको मुख्य पर्यटकीय क्षेत्रका रूपमा रहेको जाखोरताल र देवहरिया वन क्षेत्रमा घुमफिर रमाइलो गर्ने, पिकनिक खाने मान्छेको दैनिक उपस्थिति रहने गर्छ। रमाउन आएका उनीहरू प्लास्टिक, बोतललगायत जथाभाबी छोड्नुका साथै जथाभाबी फोहोर फालेर फर्कने गरेका छन्। रमाइलो गर्नेले अत्यधिक फोहोर गरेकाले वातावरणप्रति चिन्तित चौधरीको हरेक बिहान प्लास्टिक र सिसाको बोतल बटुल्ने दैनिकी बनेको हो। 

'म एक वर्षदेखि जाखोरताल, वन र अन्य ताल क्षेत्रको फोहोर टिप्दै आएको छु,' शनिबार बिहान तालपरिसरमा फोहोर टिप्दै गरेको अवस्था भेटिएका उनले भने, 'रमाउन आउनेले फोहोर व्यवस्थापन गर्न जानेका छैनन्। जताततै बोतल फालेर जान्छन्।'

चौधरीले खोजी खोजी टिपेको फोहोरलाई मोहरमा परिणत गरिरहनुभएको छ। सिसाका प्रतिबोतल एक रुपियाँ र प्लास्टिकका बोतल प्रतिकेजी ४० रुपियाँमा बिक्री गर्दै आएको उनले सुनाए। 'प्लास्टिक टिपेर आम्दानी त खासै हुने गरेको छैन। यस्तै महिनाको हजार, डेढ हजारको बिक्री हुन्छ,' किराना पसलसमेत सञ्चालन गर्दै आएका उनले भने, 'तर मेरो आम्दानीभन्दा पनि यहाँ सरसफाइ भइरहेको छ, त्यो ठुलो कुरो हो।'

देवहरिया वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र कैलालीको महत्वपूर्ण उद्यान हो। यसभित्र विभिन्न प्रजातिका दुर्लभ बोटबिरुवा, जडीबुटीको संरक्षण गरिएको छ। यसैगरी जाखोरताल क्षेत्र जलीय जीवदेखि लिएर जलपन्छीका लागि निकै महत्वपूर्ण रहेको छ तर पिकनिक खानेदेखि लिएर घुमफिर गर्न आउनेले तालमा र तालपरिसरमा जथाभाबी प्लास्टिक, प्लास्टिकका बोतल फाल्ने गरेकाले प्रदूषणको चिन्ता बढेको चौधरी बताउँछन्। उनले फोहोर व्यवस्थित तरिकाले फाल्न आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस