सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘उज्यालो धनगढी’ कार्यक्रमको आठौं चरण: विभिन्न वडामा स्मार्ट स्ट्रीट लाइट उद्घाटन हुँदै

२०८२ चैत्र २८, ०१:१८ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन कार्यक्रम आयोजना गर्ने भएको छ। उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

उद्घाटन कार्यक्रम भोलि अर्थात् चैत २९ गते साँझ ७:३० बजे सम्बन्धित वडाका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिनेछ। उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई आ–आफ्नो नजिक पर्ने स्थानमा उपस्थित हुन अनुरोध गरेको छ।

कार्यक्रम अनुसार वडा नं. १ मा कैलाली पुलदेखि क्याम्पस रोडसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन हाम्रो डेरी जाने चोक नजिक तथा नोभा अस्पताल अगाडि गरिनेछ, जसको उद्घाटन वडा अध्यक्ष सन्तोष मुडभरीले गर्नेछन्।

वडा नं. ३ मा फाप्ला जाने सडकमा जडान गरिएको बत्तीको उद्घाटन बिबेक दाना मिल अगाडि, वडा अध्यक्ष राजबहादुर ऐरद्वारा गरिनेछ।

यस्तै वडा नं. ७ मा बेली हनुमान मन्दिरदेखि पुलसम्मको सडक खण्डमा जडान गरिएको बत्तीको उद्घाटन जुगेडा जाने सडक नजिक तथा मनेहरा पुरानो वडा कार्यालय नजिक वडा अध्यक्ष मोती रानाले गर्नेछन्।

वडा नं. ८ मा अनामनगर हुलाकी सडकमा जडान गरिएको बत्तीको उद्घाटन मनेहरा गाउँ जाने चोक नजिक वडा अध्यक्ष जुगराम चौधरीले गर्ने कार्यक्रम छ।

वडा नं. ११ मा बेला चोकदेखि थापाचोकसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन बेला उपाध्याय मिल नजिक वडा अध्यक्ष रूप बहादुर कुँवरले गर्नेछन्।

वडा नं. १२ मा जुगेडा ‘ए’ गाउँमा जडान गरिएको बत्तीको उद्घाटन सेन्टर प्लट नजिक वडा अध्यक्ष शेर बहादुर महराले गर्नेछन्।

त्यसैगरी वडा नं. १७ मा घुर्जन्ना क्षेत्रमा जडान गरिएको बत्तीको उद्घाटन वडा कार्यालय अगाडि वडा अध्यक्ष माधव रानाले गर्ने कार्यक्रम रहेको छ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो धनगढी’ कार्यक्रमको यो आठौं चरण हो। यस कार्यक्रमले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने विश्वास लिइएको छ। साथै, स्थानीय बजार क्षेत्रको विकास र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस