सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी संगठनमाथि प्रतिबन्धको तयारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

२०८२ चैत्र २७, ०३:३० खबर संवाददाता

काठमाडौँः विभिन्न राजनीतिक दलनिकट १५ विद्यार्थी संगठनहरूले सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै त्यसको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। विद्यार्थी संगठनहरूले सरकारको निर्णयलाई संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारविपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

सरकारले हालै सार्वजनिक गरेको एक सय कार्यसूचीमा विद्यार्थी संगठनहरूको गतिविधि नियन्त्रण वा प्रतिबन्ध लगाउने विषय उल्लेख गरिएको थियो, जसप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन्।

घोषित कार्यक्रमअनुसार पहिलो चरणमा २८ चैतमा नागरिक अगुवा तथा सरोकारवालासँग अन्तरक्रिया गरिनेछ। त्यसपछि २९ चैतदेखि ४ वैशाखसम्म देशभर कलेजस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

यसैगरी, ५ वैशाखमा पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग संवाद, ७ देखि १४ वैशाखसम्म देशव्यापी प्रचारप्रसार, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम, ११ वैशाखमा विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने र १२ वैशाखमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय गरिएको छ। १५ वैशाखमा काठमाडौँ उपत्यकामा कापी–कलमसहित देशव्यापी प्रदर्शन गर्ने पनि घोषणा गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै दुजाङ शेर्पा ले ऐतिहासिक भूमिका बोकेका विद्यार्थी संगठनहरूमाथि बन्देज लगाउने निर्णयविरुद्ध संयुक्त आन्दोलन आवश्यक भएको बताए। उनले नागरिक समाज र सम्पूर्ण विद्यार्थीलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरे।

त्यसैगरी, दीपक धामीले सरकारलाई जनताले दिएको म्यान्डेट सुशासन र समृद्धिमा प्रयोग गर्न आग्रह गर्दै निरंकुश प्रवृत्तिको विरोध गरिने चेतावनी दिए।

विद्यार्थी संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाह लाई जनमतको सम्मान गर्न र निर्णयमा पुनर्विचार गर्न समेत चेतावनी दिएका छन्। साथै, संयुक्त विद्यार्थी मोर्चाले सरकारसमक्ष ७ बुँदे मागपत्र पनि पेश गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस