सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस

२०८२ चैत्र २६, ०१:४५ नारायण अवस्थी

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका सुडामा रहेको घटाल बहुमुखी क्याम्पस महिलाहरूको उच्च शिक्षा हासिल गर्ने थलो बनेको छ।

नेपाली काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरिप्रसाद बोहरा लगायतले २०६७ मा स्थापना गरेको यो क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमा छोरी र बुहारीको संख्या अत्यधिक छ।

महेन्द्रनगर बजार थोरै टाढा भएकाले वेदकोट नगरपालिकाको ग्रामीण क्षेत्रका महिलालाई उच्च शिक्षा हासिल गर्न सहज होस् भनेर सामुदायिक प्रयासबाट क्याम्पस स्थापना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त बोहराले बताए। 'छोरी बुहारीहरूलाई विश्वविद्यालय शिक्षा हासिल गर्न सहज होस् भने सामुदायिक क्याम्पसका रुपमा घटाल बहुमुखी क्याम्पस खुलेको हो। कम शुल्कमा गुणस्तरीय शिक्षा दिनुपर्ने भनेर सुडास्थित घटाल माध्यमिक विद्यालयको भवनमा क्याम्पस सञ्चालन गरिएको हो,' उनले भने, 'अहिले क्याम्पसमा १६२ जना विद्यार्थीमध्ये १४९ जना छात्रा छन्। उनीहरूमा पनि विवाहितको संख्या पनि उल्लेखनीय छ।'

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय मात्रै सञ्चालन रहेको क्याम्पस कोभिडका कारण भने प्रभावित भएको अध्यक्ष बोहराले बताए। लकडाउनका कारण २०७७ देखि २०८० सम्म क्याम्पस बन्द भएकाले उनले बताए।

अहिले भने तीन वर्षदेखि क्याम्पस नियमित सञ्चालनमा छ। क्याम्पसमा निजी कलेजको भन्दा राम्रो पढाइ हुने गरेको बिबिएस तेस्रो वर्षमा अध्ययनरत छात्रा मनिषा भट्टले बताइन्। "हाम्रो क्याम्पसमा महिला विद्यार्थीको संख्या बढी छ, पढाइ पनि राम्रो हुन्छ, नतिजा पनि राम्रो नै आउँछ," मनिषाले भनिन्। 

घटाल बहुमुखी क्याम्पस अहिले घटाल माध्यमिक विद्यालयको भवनमा सञ्चालन गरिएको छ। क्याम्पसको आफ्नै जग्गामा अहिले भवन निर्माणाधीन छ। बिबिएसको पढाइ मात्रै हुने क्याम्पसमा बिबिए र बिए अध्यापनका लागि त्रिभुवन विश्वविद्यालयमा  निवेदन दिएको व्यवस्थापन समितिका अध्यक्ष बोहराले बताए।

स्थापनाकै वर्ष दुई सय विद्यार्थी भर्ना भएको क्याम्पसमा छोरी बुहारीको संख्या उल्लेखनीय छ। छोरीबुहारीलाई उच्च शिक्षा दिनुपर्नेछ भन्ने मान्यताले खुलेको क्याम्पस सञ्चालन गर्न समुदायबाट चन्दा संकलन गरिएको अध्यक्ष बोहराले बताए। उनले भने, 'सुरूमै स्थानीयबाट स्वेच्छिक रुपले  ५ लाख संकलन भएको थियो। उक्त रकमको कोष स्थापना गरेको हाल ६ लाख पुगेको छ।'

घरबाटै विद्यार्थीले न्यूनतम शुल्क तिरेर स्नातक तहको अध्ययन गर्ने अवसर पाएको बिबिएस प्रथम वर्षकी छात्रा मनिषा भट्टले बताइन्।

उनले नजिकै क्याम्पस भएकाले थोरै शुल्कमा पढ्न पाएको बताइन्। 'हामी थोरै शुल्कमा स्नातक पढ्न पाएका छौँ। घर नजिकै क्याम्पस भएकाले कक्षा लिन समस्या छैन, नत्र भने कि महेन्द्रनगर बजार जानुपर्थ्यो कि त काठमाडौँ जानुपर्ने हुन्थ्यो होला,' उनले भनिन्, 'त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा घरमै बसेर निकै कम शुल्कमा पढ्न पाउँदा हामीलाई मात्रै होइन परिवारलाई पनि सजिलो भएको छ। घरको काम गर्दै पढ्न मिलेको छ। पढाइ पनि स्तरीय नै छ।'

क्याम्पस सञ्चालन गर्न वेदकोट नगरपालिकाले अनुदान दिने गरेको छ। यस्तै प्रदेशको सामाजिक विकास कार्यालयले पनि अनुदान दिने गरेको भए पनि चालु आर्थिक वर्षमा भने क्याम्पसलाई नगरपालिका र सामाजिक विकास कार्यालयले अनुदान नदिएको अध्यक्ष बोहराले बताए।

कोभिडमा तीन वर्ष बन्द भएको क्याम्पस शैक्षिकसत्र २०८० बाट फेरि सञ्चालन आएको हो। त्यसपछि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नारायणदत्त बोहारा चयन भए,  उनको चार वर्षे कार्यकाल भने आगामी जेठमा समाप्त हुन लागेको छ।

सामुदायिक कलेजको रुपमा खुलेको घटाल बहुमुखी क्याम्पसमा ५२ जना  संस्थापक सदस्य छन्।  क्याम्पसमा  दुई जना पूर्णकालीन ६ जना आंशिक प्राध्यापक छन्।

ग्रामीण क्षेत्रको क्याम्पस भए पनि नतिजा भने  त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिममै सर्वोकृष्ट आउने गरेको क्याम्पसको दाबी छ। बिबिएस प्रथम वर्षमा ३२ जना परीक्षार्थीमा २१ जना उत्तीर्ण भएका, चार जना प्रथम श्रेणीमा पास भएका र  चारै जना छात्रा रहेको अध्यक्ष बोहराले बताए।

कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले खुलेको क्याम्पसले आर्थिक चुनौती व्यहोर्नुपरेको अध्यक्ष बोहराले बताए। "क्याम्पसले शुल्क वार्षिक १८ हजार तोकेको छ तर विद्यार्थीले वार्षिक  बढीमा १० हजार मात्रै तिर्ने गरेका छन्," उनले भने, "क्याम्पसको आफ्नै भवन नहुँदा पनि समस्या थियो तर अहिले नगरपालिकाले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा क्याम्पस भवन निर्माण भइरहेको छ।"

छोरी-बुहारीहरूलाई उच्च शिक्षा हासिल गर्न सहज होस् भनेर घटाल बहुमुखी क्याम्पस बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुने गरेको छ। जसले गर्दा महिला विद्यार्थीलाई घरको काम गर्न सजिलो भएको छ।

अहिले सुडामा घटाल माध्यमिक विद्यालयको भवनमा सञ्चालनमा रहेको क्याम्पसका लागि हाल बेदकोट-३ मा ६ कोठे भवन निर्माण भइरहेको छ। क्याम्पस भवनका लागि वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले पाँच कट्ठा  जग्गा उपलब्ध गराएको अध्यक्ष बोहराले बताए।
नगर प्रमुख भोजराज बोहराले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा सङ्घीय सहरी विकास मन्त्रालयले ५० लाख बजेट दिएको र सोही बजेटबाट भवन निर्माण भइरहेको छ।

असार मसान्तसम्म काम सम्पन्न हुने र नयाँ शैक्षिकसत्रबाट आफ्नै भवनमा क्याम्पस सञ्चालन हुने अध्यक्ष बोहराले बताए। अहिले आर्थिक चुनौती र भौतिक पूर्वाधार तथा पाठ्य सामग्रीको अभाव झेलिरहेको क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको बिबिए कार्यक्रम ल्याउन सके आर्थिक अवस्था सहज हुने अध्यक्ष बोहराले बताए। उनले घरमै बसेर गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस