शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
धनगढी: सुदूरपश्चिम प्रदेशका सरोकारवालाले कैलालीको गोदावरी नगरपालिका–५ मा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा विश्वविद्यालय सुदूरपश्चिमका जनताको लामो संघर्ष र सपना भएको उल्लेख गरिएको छ। नेपाल सरकारले २०७९ जेठ ४ गते प्रतिनिधिसभाबाट सम्बन्धित विधेयक पारित गरी राष्ट्रपति मार्फत प्रमाणीकरण भइसके पनि विश्वविद्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा विश्वविद्यालय सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हासिल हुने, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने तथा पर्यटन र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै, गम्भीर बिरामी र दुर्घटनामा परेका नागरिकलाई अन्य प्रदेश वा भारत जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिएको छ।
सरोकारवालाले सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन्। जसमा आधुनिक उपकरणसहित ६०० शैय्याको शिक्षण अस्पतालको संरचना तथा व्यवस्थापन (O&M) पारित गरी सञ्चालन गर्नुपर्ने, आगामी आर्थिक वर्षदेखि MBBS लगायतका शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने, विश्वविद्यालयको जग्गा व्यवस्थापन तथा पूर्वाधार विस्तारको प्रक्रिया तीव्र पार्नुपर्ने उल्लेख छ।
यस्तै, विश्वविद्यालय हाताभित्र शहीद दशरथ चन्दको सालिकसहित पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन, छात्रवृत्तिमा सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई प्राथमिकता दिन तथा स्थानीय तहलाई निश्चित प्रतिशत सिट र रोजगारीमा अवसर दिनुपर्ने माग पनि गरिएको छ। साथै, विश्वविद्यालय सभामा सरोकार तथा समन्वय समितिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।
उक्त ज्ञापनपत्र धर्मसिंह कुँवर (सचिव), आनन्द प्रसाद भट्ट (सह–संयोजक) र लोकराज पाण्डेय (संयोजक) लगायतका पदाधिकारीहरूले हस्ताक्षर गरी बुझाएका हुन्।