तीन विश्वविद्यालयबीच त्रिपक्षीय समझदारी, शैक्षिक सहकार्य सुदृढ गर्ने लक्ष्य
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरस्थित रामारोशन हलमा आज २०८२ चैत २५ गते त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय समझदारी पत्र (MoU)मा हस्ताक्षर सम्पन्न भएको छ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको उपस्थितिमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रमका क्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकले अतिथिहरूलाई स्वागत गर्दै उक्त समझदारीले विश्वविद्यालयहरूमा रहेको प्राज्ञिक जनशक्ति अभावलाई डिजिटल माध्यममार्फत पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, यसले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायका डीन, निर्देशक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।