शुक्लाफाँटा–लालझाडी क्षेत्रमा बाघ गणनाको क्यामेरा चोरी, मेमोरी कार्डसमेत गायब
कञ्चनपुर: शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएको एक क्यामेरा चोरी भएको छ । कम्प्लेक्सअन्तर्गत लालझाडी मोहना संरक्षित क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार बाघ गणनाका लागि राखिएका एक क्यामेरासँगै आठवटा मेमोरी कार्डसमेत चोरी भएका छन् । बाघ गणनाका लागि हरेक स्थानमा एक जोडी स्वचालित क्यामेरा राखिएको थियो ।
‘एकतिरको क्यामेरा चोरी भयो, अर्कोतिरको कार्ड चोरी भयो,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘जानेकै मानिसले चोरी गरेजस्तो देखिन्छ, मेमोरी कार्डसमेत लगेर गएको छ ।’ क्यामेरा र मेमोरी कार्ड चोरी भएपछि चोरी गर्ने व्यक्तिको पहिचानका लागि सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरिएको उनले बताए ।
शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा फागुन २६ देखि बाघ गणनाको काम सुरु भएको हो । गणनाका लागि २/२ किलोमिटरका २ सय ६० वटा ग्रीड निर्माण गरिएका छन् । बाघ ओहोरदोहोर गर्ने क्षेत्रको पहिचान गरेर हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिन्छ । त्यसै अनुसार एउटा ग्रीडमा कम्तीमा १५ दिन क्यामेरा राखिन्छ ।
यो बीचमा क्यामेराको ब्याट्री जाँच गर्नेदेखि मेमोरी कार्डहरुबाट फोटो संकलनलगायतका काम भने नियमित भइरहन्छन् । ‘शुक्लाफाँटा र लालझाडीमा राखिएका क्यामेरा संकलन भइसकेका छन्,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘अहिले डडेलधुराको जोगबुडा क्षेत्रमा क्यामेरा जडान भइरहेका छन् ।’
शुक्लाफाँटामा गत वर्ष गरिएको गणनामा ४३ वयस्क बाघ रहेका छन् । यसअघि २०२२ को राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ थियो । राष्ट्रिय बाघ गणना चार/चार वर्षमा गरिन्छ । चोरीसिकारको जोखिम भएका र कम संख्या भएको क्षेत्रमा भने हरेक वर्ष बाघ गणना हुँदै आएको छ ।