सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्ला क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना बन्ने: मन्त्री पोखरेल

२०८२ चैत्र २४, ०३:३६ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइने शिक्षा विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजनाको प्रगति मूल्यांकन गर्दै सरकार यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने दिशामा अघि बढ्ने बताए।

उनका अनुसार आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (DPR) तथा वातावरणीय प्रभाव मूल्यांकन (EIA) जस्ता महत्वपूर्ण प्राविधिक प्रक्रिया पूरा भइसकेका छन्। साथै, यो परियोजना राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब बजेट विनियोजन र निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ।

मन्त्री पोखरेलले फाप्ला परियोजनालाई खेल पूर्वाधार मात्र नभई सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने ‘गेम चेन्जर’ का रूपमा व्याख्या गरे।

निरीक्षण टोलीमा प्रतिनिधि सभा सदस्यहरू आनन्दबहादुर चन्द, के.पी. खनाल तथा रास्वपाका नेता भूपदेव शाहलगायतको उपस्थिति रहेको थियो।

त्यस अवसरमा फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले लामो समयको तयारीपछि आयोजना निर्माण चरणमा प्रवेश गरेको जानकारी दिँदै मन्त्रीस्तरीय चासोले काममा थप ऊर्जा मिलेको बताए।

सांसदहरूले समेत समयमै आयोजना सम्पन्न गर्न सरकार र संसदबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाएका छन्। निर्माण कार्य तीव्र बनेमा फाप्ला रंगशाला दक्षिण एसियाकै उत्कृष्ट खेलग्राममध्ये एक बन्ने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट लोड गर्नुस