सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापनको सुनिश्चित गर्न माग

२०८२ चैत्र २३, १०:२९ खबर संवाददाता

धनगढीः गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ गते गेटामै बस्ने भएको छ। यसअघि दुईपटक संघीय राजधानीमा बसेको बैठक यसपटक पहिलोपटक विश्वविद्यालय परिसरमै आयोजना हुन लागेको हो। बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली र कार्यविधि पारित गर्ने तयारी गरिएको छ।

सभाको अध्यक्षता शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, आगामी शैक्षिक सत्रबाट एमबिबिएससहित चिकित्सा शिक्षा सञ्चालन गर्ने तयारी भइरहे पनि यसको स्पष्ट सुनिश्चितता अझै हुन बाँकी रहेको भन्दै समन्वय समितिले चासो व्यक्त गरेको छ।

विश्वविद्यालय स्थापना अभियानमा सक्रिय समन्वय समितिले एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले चैत २५ गतेको सभालाई लक्षित गर्दै स्थानीय सरोकारका विषय उठाउने, विश्वविद्यालय परिसरमा सहिद दशरथ चन्दको सालिकसहित पार्क निर्माणको माग गर्ने लगायतका निर्णय गरेको छ।

समितिका संयोजक लोगराज पाण्डे (आगो) का अनुसार बैठकमा स्थानीय र सरोकारवालाका विषयहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने योजना बनाइएको छ। उनले विश्वविद्यालय सञ्चालनमा सहयोग र समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र पार्क निर्माणको जिम्मा समितिले लिन सक्ने गरी पहल अघि बढाइएको जानकारी दिए। साथै, आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न आवश्यक बजेटका लागि दबाब दिने तयारी गरिएको छ।

संयोजक पाण्डेले विश्वविद्यालय सञ्चालनका लागि प्रस्ताव गरिएको २ अर्ब ५८ करोड रुपैयाँ सुनिश्चित गर्न पनि पहल गरिने बताए। विश्वविद्यालय ऐन २०८२ पारित भएसँगै उपकुलपति, रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त भइसकेका छन्।

पदाधिकारीहरूले आगामी शैक्षिक सत्रबाट चार विषयमा अध्यापन सुरु गर्ने लक्ष्य राखेका छन्। तर, कानुनी प्रावधान अनुसार कम्तीमा ३०० शय्या अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने भएकाले सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताललाई आबद्ध गर्ने तयारी भइरहेको छ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि ७७ शिक्षक पदमा दरखास्त आह्वान गरिएकोमा ३०४ जनाले आवेदन दिएका छन्। वैशाख महिनादेखि छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस