बाजुराका पाँच स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
बाजुरा: सरकारले बाजुराका पाँच स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
नयाँ सरकार बनेसँगै रिक्त रहेका तीन गाउँपालिका र दुई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले लामो समयदेखि रिक्त रहेर निमित्तको भरमा सञ्चालन भइरहेका पालिकामा प्रशासनिक कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएकी हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यहीँ चैत १६ गतेबुको निर्णयअनुसार बुढीगंगा नगरपालिकामा उपसचिव भोजबहादुर ऐडी र बुढीनन्दा नगरपालिकामा विनोद कुमार पौडेललाई कामकाजका रुपमा खटाएको छ। त्यस्तै मन्त्रालयको चैत १९ गते अर्थात बिहीवारको निर्णय बमोजिम जिल्लाका तीन वटा गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृतलाई खटाएको छ।
यसअघि त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत टेकबहादुर मौनीलाई मन्त्रालयले खप्तड छेडेदह गाउँपालिकामा कामकाजका रुपमा खटाएको छ। यस्तै जगन्नाथ गाउँपालिकामा हेमन्त चुनारा र स्वामीकार्तिक खापर गाउँपालिकामा रमेशसिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएको जनाएको छ।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएका स्थानीय तहहरु मध्ये अधिकांश पालिकाहरु निमित्तका भरमा चल्दै आएका थिए। अब नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै ति पालिकाहरुमा सेवा प्रवाहसँगै प्रशासनिक कामकाज थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसअघिका सरकारले पनि जिल्लाका सबै स्थानीय तहहरुमा दरबन्दीअनुसार नै प्रमुख प्रशासकीय अधिकृत खटाए पनि धेरैजसो नआउने र कोही आए पनि हप्तादिन नबित्दै सरुवा गरेर जाने समस्या रहदैँ आएको छ।
करिब दुई तिहाई नजिकको सरकार बनेसँग बाजुराका ९ स्थानीय तहमध्ये पाँच वटामा प्रमुख प्रशासकीय अधिकृत खटाइए पनि अझै केही पालिका भने निमित्तकै भरमा सञ्चालन भइरहेको छन्। हाल बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् भने गौमुल गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत र त्रिवेणी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई खप्तड छेडेदहमा खटाएसँगै सो नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ।