सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक विद्यालयमा प्रधानाध्यापकमा दलित महिला

२०८२ चैत्र १८, ०३:१६ खबर संवाददाता

बैतडीः जिल्लामा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन्। राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका हुन्।    

पछिल्लो पटक मेलौली नगरपाकिला–६ की स्थानीय इन्द्रा विश्वकर्मा (पोखरेल) सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भएकी छन्। 

उनलाई नगरपालिकाको शिक्षा शाखाले प्राधानाध्यापकको जिम्मेवारी दिएको हो। शिक्षामा स्नातकोत्तर इन्द्राले प्रधानाध्यापकको जिम्मेवारी इमानदारीपूर्वक समाल्ने बताइन्। 

सात वर्षदेखि सोही विद्यालयमा कार्यरत उनलाई नगरपालिकाले प्रअको जिम्मेवारी दिएपछि अभिभावकसमेत खुसी भएका छन्। विद्यालयलाई जग्गा दान गर्ने स्थानीय चिन्तामणि भट्टले दलित महिला प्रधानाध्यापकको जिम्मेवारीमा पुग्दा खुसी लागेको बताए। अभिभावकसमेत रहेका भट्टले विद्यालयमा दलित महिला पहिलो पटक नेतृत्वमा पुगेको बताए।

पछिल्लो समय शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। तथ्याङ्क अनुसार जिल्लामा ५३४ वटा सामुदायिक विद्यालय रहेकोमा ८४ जना महिला प्रधानाध्यापक छन्। जसमा नौ जना दलित महिला प्रधानाध्यापक छन्। 

दलित पुरुष दस जना 
जिल्लाका सामुदायिक विद्यालयमध्ये १० वटा विद्यालयमा दलित पुरुष प्रधानाध्यापक रहेका छन्। शिक्षाका क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७ का दिनेश नागरी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले स्थानीय गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार १५७ रहेको छ। योमध्ये दलितको जनसङ्ख्या ५३ हजार २७४ रहेको छ। (गोरखापत्रबाट साभार)  

कमेन्ट लोड गर्नुस