जेष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँ पक्राउ
काठमाडौँः ललितपुरको लगनखेल क्षेत्रमा एक जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँलाई पक्राउ गरेको छ।
ललितपुर प्रहरीका अनुसार चैत १५ गते पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार भएको सूचना प्राप्त भएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।
गोदावरी नगरपालिका–१० टौखेलका ३० वर्षीय बजगाईँ (आरबी शर्मा) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस घटनाबारे गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारले प्रत्येक नागरिकको सुरक्षाप्रति सतर्क रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।'