सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो वर्ष सुदूरपश्चिमबाट करिब ५४ हजारले एसइई परीक्षा दिँदै

२०८२ चैत्र १७, १२:३० नारायण अवस्थी

धनगढीः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशबाट करिब ५४ हजार विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लाबाट कुल ५३ हजार ९७३ परीक्षार्थी परीक्षा दिने तयारीमा छन्। एसइई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ।

निर्देशक दुर्गादत्त विष्टका अनुसार नियमिततर्फ ४० हजार ९७३, प्राविधिक धारतर्फ १ हजार ७७८ र ग्रेड वृद्धितर्फ ११ हजार ४८५ परीक्षार्थी सहभागी हुनेछन्।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै कैलालीबाट १८ हजार २७८ विद्यार्थी परीक्षा दिँदै छन्। त्यसपछि कञ्चनपुरका १० हजार ८९७, बैतडीका ४ हजार ५२९, अछामका ४ हजार ४५१ परीक्षार्थी सहभागी हुनेछन्।

त्यस्तै, डोटीका ३ हजार ३१४, दार्चुलाका ३ हजार ५६८, बझाङका ३ हजार ४२१ विद्यार्थी परीक्षा दिनेछन् भने सबैभन्दा कम बाजुराबाट २ हजार ४२६ परीक्षार्थी सहभागी हुने निर्देशक विष्टले बताए।

निर्देशक विष्टले यो वर्ष प्रदेशभर  २२१ परीक्षा केन्द्र कायम गरिएको छ भने २२१ केन्द्राध्यक्ष र ३७३ जना सहायक केन्द्राध्यक्ष परीक्षामा खटिने छन्।

यस्तै, दुई हजार ७२८ निरीक्षक, तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक तथा एक हजार १०३ जना सहयोगी परीक्षामा परिचालन हुनेछन्।

प्रदेशभर परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस