जेनजी सहिद दीपक साउदका परिवारलाई नेपाल विद्युत् प्राधिकरणमा रोजगारी
बैतडीः बैतडीमा जेनजी आन्दोलनका क्रममा सहिद भएका शिवनाथ गाउँपालिका–२, शर्मालीका दीपकसिंह साउदको परिवारलाई सरकारले घोषणा गरेअनुसार रोजगारी उपलब्ध गराइएको छ।
सहिद दीपककी भाउजू सरस्वती साउदले नेपाल विद्युत् प्राधिकरणमा जागिर पाएकी हुन्।
नेपाल विद्युत् प्राधिकरणको जनसाधारण विभागले आइतबार सार्वजनिक गरेको सूचनामा जेनजी आन्दोलनका सहिद परिवारका २७ जना सदस्यलाई रोजगारी दिने उल्लेख गरिएको छ, जसमा सरस्वती साउदको नाम पनि समावेश छ।
दीपकसिंह साउदको भदौ २३ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो। कृषि जेटिएको अध्ययन पूरा गरेर थप अध्ययनका लागि काठमाडौं गएका उनि आन्दोलनमा सहभागी भएका थिए।
उनको निधनपछि सरकारले सहिद घोषणा गर्दै परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो। उक्त राहत वितरणका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलसहितको टोली सहिदको घरमै पुगेको थियो। साथै, सरकारले परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा पनि गरेको थियो।
परिवारको सहमतिमा बुहारीको नामबाट रोजगारीका लागि आवेदन दिइएको सहिदकी आमा लक्ष्मी साउदले जानकारी दिइन्। साथै, गाउँपालिकाले पनि एक लाख रुपैयाँ राहत दिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। उनका अनुसार सहिद परिवारलाई गाउँपालिकाका उद्यम कार्यक्रमहरूमा पनि प्राथमिकता दिइँदै आएको छ।