बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुम्वासीलाई जग्गा दिन नापजाँच सुरु
बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिकाले सुकुम्वासीलाई जग्गा दिन नापजाँचको काम सुरु गरेको छ ।
सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका लागि गाउँपालिकाले भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयसँग समन्वय गरेर प्राविधिमार्फत नापजाँचको काम सुरु गरेको हो ।
भूमि समस्या समाधान आयोगले जिल्लाका १० वटै पालिकाबाट सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको आवेदन सङ्कलन गरेको आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले बताए। उनले जिल्लाभरि चार सय सुकुम्वासी र दुई हजार सात सय अव्यवस्थित बसोबासीको आवेदन परेको बताए।
सुकुम्वासीलाई जग्गा दिन पञ्चेश्वर गाउँपालिकाबाट काम सुरु गरिएको छ । पञ्चेश्वर गाउँपालिकाबाट ५९ सुकुम्वासी र चार सय अव्यवस्थित बसोबासी रहेका छन् । पञ्चेश्वर गाउँपालिकाले सङ्कलन गरेकामध्ये छानबिनका क्रममा ५९ सुकुम्वासी प्रमाणित भएपछि जग्गा दिन प्राविधिकले नापजाँचको काम सुरु गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। सुकुम्वासीलाई एकै ठाउँमा जग्गा दिन पञ्चेश्वर गाउँपालिका–४ को महाकली कोरिडोरसँग जोडिएको जाइबाटामा जग्गा नापजाँचको काम सुरु भएको उनले बताए।
स्थानीय भूमि व्यवस्थापन सहजकर्ताका रूपमा काम गर्दै आएका नरीराम लोहारले एकीकृत बस्ती बसाल्न गाउँपालिकाले जाइबाटाको खाली जग्गा पहिचान गरेको बताए।
एकीकृत बस्ती बसाल्न सके बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । सुकुम्वासीलाई जग्गा दिन गाउँपालिकाले सहजकर्ता परिचान गरेको छ भने भूमि आयोगले नापीसम्बन्धी काम गर्न प्राविधिक परिचालन गरेको आयोगका जिल्ला अध्यक्ष पाण्डेयले जानकारी दिए।
उनले पञ्चेश्वर गाउँपालिकाका सुकुम्वासीले पाउने जग्गा नापजाँचपछि अन्य पालिकामा काम सुरु गर्ने बताए। सुकुम्वासीलाई जग्गा दिन पटक पटक आयोग बने पनि काम सुरु हुन सकेको थिएन । यो पटक जग्गा नापजाँचको काम सुरु हुँदा आशा बढेको सुकुम्वासी रगी लुहारले बताए।
यहाँका सुकुम्वासी २०५२ सालदेखि जग्गा पाउने आसामा बसेका थिए । त्यसबेला गडन भएको गोविन्दप्रसाद कलौनी अध्यक्ष रहेको आयोगले बैतडीका २५० जनालाई लालपुर्जासमेत बाँडेको थियो । यद्यपि सो लालपुर्जा अनुसारको जग्गा भने कतै भेटिएको थिएन ।