सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार करोड ११ लाख रुपैयाँको लागतमा मोहना नदीमा तटबन्ध निर्माण

file photo
file photo
२०८२ चैत्र १५, ०१:५९ रासस

टीकापुर: वर्षौँदेखि नदी कटानको त्रास झेल्दै आएका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले अब केही राहत महसुस गरेका छन्। मोहना नदीमा ६८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गा प्रयोग गरिएको) तटबन्ध निर्माण सम्पन्न भएसँगै स्थानीयको चिन्ता कम भएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका अनुसार उक्त तटबन्ध चार करोड ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। बर्खा मात्र होइन, हिउँदमा समेत हुने कटानले हैरान पारेको अवस्थामा तटबन्ध बनेपछि समस्या नियन्त्रणमा आएको स्थानीय खडग धामीले बताए।

उनका अनुसार नदी कटानका कारण नेपाल–भारत सीमास्थित १०५ नम्बर पिलरसम्म जोखिममा परेको थियो। बर्खायाममा घर बग्ने डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था थियो। अहिले भने त्यो त्रास हटेको महसुस भएको उनले सुनाए। उनले थपे, “सयौँ बिघा जमिन नदीले बगाउँदा धेरै परिवार विस्थापित भए।”

धामीले आफ्नो लालपूर्जा भएको जमिनमै अहिले नदी बगिरहेको उल्लेख गर्दै पाँच वर्षअघि नै तटबन्ध बनेको भए धेरै परिवार विस्थापन हुन नपर्ने धारणा व्यक्त गरे। उनका अनुसार पटक–पटक मन्त्रालय र स्थानीय तहसँग आग्रह गरेपछि मात्र निर्माण कार्य अघि बढेको हो।

तटबन्ध निर्माणपछि भारतको वैष्णेदेवी मन्दिरमा जान र त्यहाँबाट पर्यटक आउन–जान सहज भएको स्थानीय रणसिंह धामीले जानकारी दिए। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरका इञ्जिनियर उत्तम सुवेदीका अनुसार यो काम गत आर्थिक वर्षको बजेटबाट सम्पन्न गरिएको हो।

पूर्व प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले स्थानीयको लामो समयदेखिको माग पूरा भएको बताए। विगतमा बनेका तटबन्ध टिकाउ नभएकाले यसपटक ठूला ढुङ्गाको प्रयोग गरिएको उनले स्पष्ट पारे। उनका अनुसार कटान र डुबानबाट पीडित स्थानीयले अहिले राहत अनुभव गरिरहेका छन्।

न्यौपानेले सुक्खायाममा समेत हुने कटानका कारण स्थानीय त्रसित रहने अवस्था अन्त्य भएको उल्लेख गर्दै सरकारबाट जनताको वास्तविक आवश्यकता अनुसार विकास भए मात्र प्रभावकारी हुने धारणा राखे।

स्थानीयका अनुसार मोहना नदीको कटानले नेपाली भूभाग भारततर्फ धकेलिएको छ। नदीपारि पुगेको जमिनमा नेपाली नागरिकले खेती गर्न नसकेको र भारतीय नागरिकले प्रयोग गरिरहेको वीरबहादुर चौधरीले जानकारी दिए।

कैलाली जिल्लामा कर्णाली र मोहना लगायतका नदीहरूले प्रत्येक वर्ष सयौँ बिघा जमिन कटान गर्दै आएका छन्। कर्णाली नदीले धार परिवर्तन गर्दा टीकापुर नगरपालिका र जानकी गाउँपालिका विशेष जोखिममा परेका छन्। टीकापुर–२, ५, ७ र ८ वडाहरू अझै पनि उच्च जोखिममा छन्।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले करिब १२ स्थानमा तटबन्ध निर्माण गरिसकेको छ। तर नदीको धार परिवर्तन हुँदा एकातिर तटबन्ध बनाउँदा अर्को स्थानमा कटान बढ्ने समस्या देखिएको छ। स्थानीय चौधरीका अनुसार दीर्घकालीन योजना बनाएर तटबन्ध निर्माण गरिए मात्र बस्तीलाई सुरक्षित राख्न सकिन्छ।
 

कमेन्ट लोड गर्नुस