गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न शिक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण
धनगढी: कैलालीको गेटामा चिकित्सा शास्त्रको अध्ययन सुरू गराउन तथा शीघ्र तीन सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन नवनियुक्त शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
संघीय सांसद केपी खनालको नेतृत्वमा गएको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अविलम्ब चिकित्सा शिक्षा सञ्चालनको वातावरण बनाउन शिक्षा मन्त्री सस्मित पोखरेलसँग आग्रह गरेको छ।
टोलीमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी, रजिस्टार डा. खेमराज जोशी, डा. भीमबहादुर चन्द तथा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) लगायत सहभागी थिए।
मन्त्रालयमा भएको छलफलका क्रममा टोलीले चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न आवश्यक पूर्वाधार निर्माण गर्न, कम्तिमा ३०० शय्याको अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण पारित गर्न, अस्पताललाई शिक्षण अस्पतालका रूपमा रूपान्तरण गरी आधुनिक उपकरणसहित विशेषज्ञ सेवा सञ्चालन गर्न माग राखेको थियो।
संघर्ष समितिका संयोजक पाण्डेयका अनुसार चिकित्सा सेवा र शिक्षा विस्तारका लागि आवश्यक बजेट सुनिश्चित गर्न, विश्वविद्यालयमा पदपूर्ति समिति गठन गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न पनि जोड दिइएको छ। सांसद खनालले आगामी आर्थिक वर्षमै चिकित्सा शिक्षा अध्ययन सुरु गर्नुका साथै ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा विशेष जोड दिएका थिए।
जवाफमा शिक्षा मन्त्री पोखरेलले चाँडै विश्वविद्यालय सभा बस्ने र आवश्यक बजेट व्यवस्थापनका लागि आफू सक्रिय रहेको बताएका छन्।