पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी
धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्। उनले पूर्वाग्रह र प्रतिशोधको आधारमा गरिएको राजनीति देशका लागि महँगो सावित हुने चेतावनी दिएका छन्।
पोखरेलले सार्वजनिक प्रतिक्रिया दिँदै राज्य संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले कानूनको शासनको नाममा राजनीतिक प्रतिशोध साँध्ने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।
उनका अनुसार, यस्तो प्रकारको कदमले लोकतान्त्रिक मूल्य–मान्यतामा गम्भीर असर पार्नेछ र राजनीतिक अस्थिरता बढाउने खतरा रहन्छ। उनले अध्यक्ष ओलीको पक्राउलाई अनुचित भन्दै अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन्।
एमालेले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ र आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत दिएको छ।