सुदूर नेपाललाई विश्वसँग जोड्दै

को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता?

२०८२ चैत्र १४, ०७:३१ रासस

कर्णालीः सिता बादी बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति भएकी छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्। 

शुक्रबार भएको सरकार गठनका क्रममा बालेन्द्र शाह नेतृत्वको सरकारमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छन्। विसं.२०५२ भदौ २३ गते सुर्खेतम जन्मिएकी उनले सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्नो आमा बाबासँग दैनिकी गुजार्दै आएकी थिइन्। उनले पदभार ग्रहण गर्दै भनिन्, 'यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइन। किनकी मेरो बिगत र पृष्ठभूमि निकै असहज थियो। परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ।'

महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरुमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उनले बताइन्। मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाइ छ। 

झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आएकी उनले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिएकी थिइन्। १३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोगमा घर छोडेर काठमाडौँ पुगिन्। उनले राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको उपाधि हासिल गरेकी छन्।  

अधिकारकर्मी हिक्मत वादीले सङ्कट बेहोर्दै पटक पटक गरेको आन्दोलन र निरन्तरको संघर्षपछि वादी समुदायको प्रतिनिधित्व गर्दै सीता संघीय सरकारको मन्त्रिपरिषद् सदस्य बन्नु इतिहासकै गर्वलायक क्षण भएको बताए। 'सदियौंदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु। अब हामी प्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ,' उनले भने।'

जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट बञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री वादीले बताइन्। 

त्यस्तै मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, दलितहरुलाई आत्मसम्मानका साथ बाँच्न सक्ने सहज अवस्था निर्माण गर्ने, सेवा प्रवाह सहजता ल्याउने, महिला सशक्तीकरण, दलित अधिकार, बाल संरक्षण, सुशासन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सरकारी तहबाट विशेष जिम्मेवारी पूरा गर्ने र नागरिकहरुको जीवन बदल्ने यात्राको रुपमा राजनीतिकलाई माध्यम बनाउने उनले बताएकी छन्।

कर्णालीका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पिछडिएको भूगोल कर्णाली र त्यसमा पनि समुदायबाट मन्त्री बनेकी सीता बादीको ऐतिहासिक सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको उत्तम अभ्यास भएको बताए। उनले भने, 'यो व्यवस्थाको सुन्दर पक्ष भनेकै सीता जस्ता पछाडि परेका समुदाय, भेक, क्षेत्र, जाति, लिंग र धर्मका नागरिकहरुको समानुपातिक र समावेशी प्रतिनिधित्व हो। यसले लोकतन्त्रलाई अँझ बढी बलियो बनाएर लैजान्छ।'

कमेन्ट लोड गर्नुस