सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री ओली–देउवाले दिए बालेन्द्र शाहलाई बधाई

२०८२ चैत्र १३, ०३:४६ खबर संवाददाता

काठमाडौँः पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। शुक्रबार प्रधानमन्त्रीको पदमा नियुक्त भई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि ओलीले सामाजिक सञ्जालमार्फत बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

ओलीले आफ्नो सन्देशमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’

त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्। उपचारका लागि हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत बधाईसहित मन्त्रिपरिषद्का सबै सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

शपथग्रहण कार्यक्रममा ओली र देउवा सहभागी नभए पनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले शितल निवासमै बधाई दिएका थिए। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले पनि बालेन्द्र शाहलाई बधाई र शुभकामना दिएकी छन्।

कमेन्ट लोड गर्नुस