सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्ववियुद्वारा कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको क्षमता विकास अभियान सञ्चालन

२०८२ चैत्र १२, ०५:१० जयन्त सिंह भाट

धनगढी: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), कैलाली बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको समग्र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ  “व्यवसायिक सिर्जनशीलता तथा क्षमता विकास अभियान – २०८२” सञ्चालनमा ल्याएको छ।

विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक, पेशागत र सिर्जनशील सीपहरूमा दक्ष बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको स्ववियु अध्यक्ष सन्तोष पन्तले जानकारी दिएका छन्। 

स्ववियुद्वारा सञ्चालन गरिएको यो अभियानले क्याम्पसका विद्यार्थीहरूलाई शैक्षिक मात्र नभई व्यवहारिक र पेशागत रूपमा सक्षम बनाउँदै भविष्यप्रति आत्मविश्वासी बनाउने विश्वास लिइएको उनले बताए। 

उनका अनुसार अभियान अन्तर्गत विभिन्न निःशुल्क तथा सीपमूलक तालिम र कक्षाहरू सञ्चालन गरिएका छन्। जसमा लोकसेवा तथा बैंकिङ तयारी कक्षा, अंग्रेजी भाषा सुधार कक्षा, समाचार तथा रिपोर्ट लेखन तालिम, फोटोग्राफी तथा ग्राफिक डिजाइन, जीआईएस तालिम, छात्रा विद्यार्थीहरूका लागि आत्मरक्षा तालिम, साथै संगीत तथा नृत्य प्रशिक्षण लगायतका कार्यक्रम समावेश रहेका छन्।

यी सबै कार्यक्रमहरू व्यवहारिक सीपमा आधारित “गैर–क्रेडिट पाठ्यक्रम” अन्तर्गत सञ्चालन गरिएका हुन्, जसले विद्यार्थीहरूको व्यक्तिगत विकाससँगै पेशागत दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

चालु शैक्षिक सत्रको तथ्याङ्क अनुसार कैलाली बहुमुखी क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा गरी करिब ६ हजार ३०० विद्यार्थीहरू अध्ययनरत रहेका छन्। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको यस क्याम्पसमा व्यवस्थापन, कानून, विज्ञान तथा सूचना प्रविधि, मानविकी, शिक्षा शास्त्र र होटल म्यानेजमेन्ट गरी छ वटा संकाय अन्तर्गत विभिन्न १६ शैक्षिक कार्यक्रमहरू अध्ययन–अध्यापन हुँदै आएका छन्।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस