डोटीमा ‘अन्तरराष्ट्रिय महाशिर एङ्गलिङ' प्रतियोगिता
डोटी:डोटीमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा बोगटान फुड्सिल गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा सुदूरपश्चिम र कर्णाली प्रदेशसहित कैलाली, बर्दिया र सुर्खेतका स्थानीय तहहरूको पनि प्रायोजन रहेको छ।
आइतबारदेखि सुरु भएको प्रतियोगिता चैत १९ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताअन्तर्गत डोटीको दिपायलस्थित सेती नदीबाट जलयात्रा सुरु भई अप्रिल १ तारिखसम्म चल्ने संयोजक देवराज जोशीले जानकारी दिएका छन्। सबैभन्दा लामो माछा समाउने प्रतियोगीलाई रु २५ हजार नगद र शिल्ड प्रदान गरिने व्यवस्था गरिएको छ।
यस प्रतियोगितामा नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी २५ जना सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार यस्ता कार्यक्रमले जल पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउँछन्। उनले विशेषगरी हिउँदमा र्याफ्टिङजस्ता साहसिक गतिविधिले पर्यापर्यटनलाई बढावा दिने बताए।
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले प्रतियोगिताले स्थानीय सम्भावनाको प्रवर्द्धन गर्दै नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार यसले नेपालको जल पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्नुका साथै आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्नेछ।