वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध, दाउन्ने खण्डमा सवारी जाम
मध्यविन्दु (नवलपरासी):वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा वर्षाले सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन सञ्चालनमा समस्या देखिएको हो।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिक सडक चिप्लिँदा सवारीसाधन फसेका कारण आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले उकालो भागमा सवारी गुड्न नसक्दा लामो जाम लागेको छ।
उनले हल्का वर्षामै सवारीसाधन चिप्लिएर अघि बढ्न नसकेको र हिलोका कारण गाडी फस्दा समस्या बढेको बताएका छन्। विशेषगरी पूर्वबाट पश्चिमतर्फ जाने सवारी उकालोमा रोकिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दाउन्ने खण्डमा अवरोध भएपछि आवागमन प्रभावित बनेको छ भने मर्मत तथा सुधारको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। सो खण्डको निर्माण कार्य सम्पन्न नभएकाले सामान्य वर्षामै पनि समस्या दोहोरिने गरेको छ।
यसैबीच, सम्भावित जोखिम कम गर्न नारायणघाट–बुटवल सडक आयोजनाले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाएको छ। हाल साना सवारी, यात्रुवाहक बस तथा आकस्मिक सेवाका सवारी सञ्चालन भइरहे पनि आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।