सुदूरपश्चिम प्रदेशसभा बैठक ७ दिनभित्र बोलाउन नेकपाको अल्टिमेटम
धनगढीः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक एक हप्ताभित्र आह्वान गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
संसदीय दलका नेता खगराज भट्टले बुधवार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सात दिनभित्र प्रदेश सभाको नियमित अधिवेशन नबोलाए कडा कदम चाल्ने चेतावनी दिएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको पत्रमा प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य भएको लामो समय भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान नगरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ।
ध्यानाकर्षण पत्रमा चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था अत्यन्तै न्यून रहेको र सरकारले विकास निर्माणमा ध्यान नदिएको आरोप लगाइएको छ। यस्तै, प्रदेश सरकारले सुशासन कायम गर्न नसकेको र मुख्यमन्त्रीमाथि नै भ्रष्टाचारको गम्भीर आक्षेप लाग्दा समेत त्यसको छानबिन प्रक्रिया अगाडि नबढेको पत्रमा उल्लेख छ।
त्यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने प्रक्रिया अगाडि नबढ्दा कानुन निर्माणको काम ठप्प भएको बताइएको छ। यस्तै, सरकारले जनसरोकारका काम गर्नुको साटो आफ्ना कार्यकर्तालाई खुसी पार्न विभिन्न राजनीतिक नियुक्तिहरूमा मात्र केन्द्रित भएको माओवादीको आरोप छ।
संसदीय दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘जननिर्वाचित सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न गर्ने एक मात्र थलोको रूपमा रहेको संसद् चालू अवस्थामा नरहेकोले एक हप्ताभित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न जोडदार माग गर्दछु।’ नेकपाले यो पत्रको बोधार्थ प्रदेश सभामुखलाई समेत दिएको छ । सरकारले संसद् छलेर मनोमानी गरिरहेको भन्दै प्रतिपक्ष दलहरूले पछिल्लो समय सदन बोलाउन दबाब दिँदै आएका छन्।
