भारतमा ग्यास अभावले रोजगारी प्रभावित, नेपालीहरू स्वदेश फर्किन थाले
धनगढी: कैलालीस्थित नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टामा भारत जानेभन्दा फर्किने नेपालीको संख्या बढ्न थालेको छ। खाना पकाउने ग्यास अभावका कारण भारतमा रोजगारी प्रभावित भएपछि नेपाली कामदार स्वदेश फर्किन थालेका हुन्।
भारतका विभिन्न सहरमा ग्यास र इन्धन आपूर्ति प्रभावित हुँदा होटल तथा साना व्यवसाय सञ्चालनमा समस्या देखिएको छ। यसले होटल क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई प्रत्यक्ष असर पारेको छ।
कैलालीका विजय बिकले ग्यास अभावका कारण दैनिक जीवन कठिन बनेपछि स्वदेश फर्किनु परेको बताए। त्यस्तै, डोटीका रोशन खड्काले आफू कार्यरत होटल बन्द हुने अवस्थामा पुगेपछि रोजगारी गुम्ने जोखिम बढेकाले घर फर्किएको जानकारी दिए।
भारतको पुनामा कार्यरत डोटीकै महेश भट्टका अनुसार ग्यास अभावले होटल व्यवसायमा व्यापक असर परेको छ र धेरै नेपाली कामदार बेरोजगार हुने अवस्थामा पुगेका छन्। केही स्थानमा वैकल्पिक रूपमा दाउरा प्रयोग गर्न थालिएको उनले बताए।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्तिमा समस्या उत्पन्न हुँदा भारतमा ग्यास वितरणमा कडाइ गरिएको जनाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ठूला सहरमा २० देखि ३० प्रतिशतसम्म होटल ग्यास अभावका कारण बन्द भएका छन्।
भारत नेपाली श्रमिकका लागि प्रमुख रोजगारी गन्तव्य रहँदै आएको छ। पछिल्लो अवस्थाले सुदूरपश्चिम क्षेत्रका श्रमिकको रोजगारीमा प्रत्यक्ष असर पार्दै स्वदेश फर्किने क्रम बढाएको देखिएको छ।