सुदूर नेपाललाई विश्वसँग जोड्दै

आपूर्ति व्यवस्थालाई सहज बनाउन कैलाली उद्योग वाणिज्य संघको आग्रह

२०८२ चैत्र ३, ०४:१५ खबर संवाददाता

धनगढीः कैलाली उद्योग वाणिज्य संघले बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रीम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै ध्यानआकर्षण भएको जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा आम उपभोक्ता तथा राज्यप्रति जिम्मेवार र उत्तरदायी बनी आपुर्ति प्रक्रियालाई जति सक्दो सहज र सरल बनाउन सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरेको छ । दक्षिणपश्चिम एसियामा भएको तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति असज भएको बेला संघले व्यवसायीहरुलाई कुनै पनि व्यापार, व्यवसायमा असर नपर्ने गरी आर्पुर्ती व्यवस्था मिलाउन सरकारको समेत ध्यानआकर्षण गराएको छ ।

‘सरकारले निर्धारण गरेको तौल तथा मुल्यमा सहजरुपमा आम उपभोक्तालाई उपलब्ध गराउनको लागि सम्पूर्ण व्यवसायीज्यूहरुलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताभन्दा बढी सन्चित नगर्न तथा सरकारले तोके बमोजिमकै तौलमा ग्यास खरिद गरिदिनहुन सम्पुर्ण उपभोक्ताज्यू हरुमा अनुरोध गर्दछौं ।’

नेपाल सरकारले तोकेको तौल, गुणस्तर तथा मूल्यमा कुनै पनि किसिमको चुहावट तथा कालोबजारी भई आइपर्ने समस्याप्रति कैलाली उद्योग वाणिज्य संघ जवाफदेही नहुने तथा त्यस्ता क्रियाकलाप गर्ने व्यक्ति तथा संस्था स्वयम् कारबाहीको हकदार तथा जवाफदेही हुनुपर्ने जानकारी पनि गराइएको छ । 

 

कमेन्ट लोड गर्नुस