वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६ बाट धनगढीका दीपक उपाध्याय सम्मानित
कैलाली: भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिने “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६” बाट रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन्। उपाध्यायलाई प्रमुख अतिथि पुर्व बिधायक हरिराम चेरोले सम्मानित गरेका थिए ।
रक्तदानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उपाध्यायलाई विशिष्ट आतिथ्यता सहित उक्त सम्मान प्रदान गरिएको हो। उनले हालसम्म ११२ औँ पटक रक्तदान गर्दै मानव जीवन बचाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मान कार्यक्रममा भारतका बिभिन्न प्रदेशबाट सयौको संख्यामा रक्तदाताहरु उपस्थित भएका थिए ।
रक्तदानमार्फत समाजमा मानवीय सेवा र जीवनरक्षा अभियानलाई निरन्तरता दिएको भन्दै उपाध्यायको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत कदर गरिएको हो।
को हुन् वीर बिरसा मुन्डा ?
वीर बिरसा मुन्डा (१५ नोभेम्बर १८७५ – ९ जुन १९००) भारतका एक आदिवासी स्वतन्त्रता सेनानी तथा मुन्डा जनजातिका लोकनायक हुन्। उनले ब्रिटिस शासनकालमा १९औँ शताब्दीको अन्त्यतिर बंगाल प्रेसीडेन्सी (हालको झारखण्ड) क्षेत्रमा भएको आदिवासी धार्मिक तथा सामाजिक आन्दोलनको नेतृत्व गरेका थिए।
उनको नेतृत्वमा भएको आन्दोलनले भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा महत्वपूर्ण स्थान बनाएको छ। भारतका आदिवासी समुदायले उनलाई भगवानसरह मान्ने गर्छन् र उनी “धरती आबा” (धरतीका पिता) नामले पनि परिचित छन्।