स्थानीय सेवा नियमावली अभावले लोकसेवा प्रभावित भएको भन्दै युवाहरुद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
धनगढी: सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८२ राजपत्रमा प्रकाशित भएको ८ महिनाभन्दा बढी समय बितिसक्दा पनि नियमावली नबन्दा स्थानीय तहमा दरबन्दी सिर्जना, रिक्त पदको यकिन अवस्था र लोकसेवा विज्ञापन खुल्न सकेको छैन।
यही विषयमा आज युवा सन्तोष रावलसहितको टोलीले सरोकारवालासँग छलफल गरेको छ। उनिहरुले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिमका सदस्य, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्की सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारी, मुख्यमन्त्री कमलबहादुर शाह तथा कानुन सचिवसंग छलफल गरि ज्ञापन पत्र बुझाएका छन्।
युवाहरुको टोलीले नियमावली शीघ्र निर्माण गर्न, स्थानीय तहमा दरबन्दी सिर्जना गर्न र लोकसेवा आयोगमार्फत विज्ञापन तत्काल खोल्ने वातावरण बनाउन प्रदेश सरकारसंग जोडदार माग राखेको छ। नियमावली ढिलाइका कारण लोकसेवा तयारीमा रहेका हजारौँ युवाको भविष्य अन्योलमा परेको भन्दै समयमै निर्णय लिन आग्रह गरिएको छ।
छलफलमा सहभागी सरोकारवालाहरूले विषय गम्भीर रहेको स्वीकार गर्दै प्रक्रिया छिटो अघि बढाउने प्रतिबद्धता जनाएको सन्तोष रावलले जानकारी दिएका छन्।