सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले दियो काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तालिम

२०८२ चैत्र २, ०५:३७ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरेको प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ।

शैक्षिक सत्र २०८२ मा पालिकाभित्र रहेका ६८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई लक्षित गरी सञ्चालन गरिएको १६ दिने, ९३ क्रेडिट आवरको तालिम पूरा गरेका ५८ जना प्रधानाध्यापकलाई प्रमाणपत्र प्रदान गरिएको हो।

तालिम तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा ४ दिन प्रत्यक्ष (फेस–टु–फेस) रूपमा, दोस्रो चरणमा ८ दिन अनलाइन माध्यमबाट र अन्तिम चरणमा पुनः ४ दिन प्रत्यक्ष रूपमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममार्फत विद्यालय नेतृत्व, व्यवस्थापन क्षमता अभिवृद्धि, शैक्षिक योजना निर्माण तथा विद्यालयको गुणस्तर सुधारसम्बन्धी विषयमा प्रधानाध्यापकहरूलाई प्रशिक्षण दिइएको थियो।

प्रमाणपत्र वितरण कार्यक्रममा काठमाडौं विश्वविद्यालयबाट प्राध्यापक डा. बालचन्द्र लुइँटेल तथा शिक्षक एवम् प्रशिक्षक इन्द्रमणि दाहाल सहभागी भएका थिए। कार्यक्रममा बोल्दै डा. लुइँटेलले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रधानाध्यापकको प्रभावकारी नेतृत्व अत्यन्त महत्वपूर्ण हुने बताए। उनले तालिमले विद्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउँदै शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै उनले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई विद्यालयमा व्यवहारिक रूपमा प्रयोग गर्न प्रधानाध्यापकहरूलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै कन्दकला रानाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकको नेतृत्व महत्वपूर्ण हुने बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालय व्यवस्थापन तथा शिक्षण–सिकाइ सुधारमा प्रयोग गर्न आग्रह गर्दै स्थानीय सरकारले शिक्षा क्षेत्रको विकासका लागि यस्ता क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

उक्त कार्यक्रम आज धनगढी उपमहानगरपालिकाको नगरसभा हलमा आयोजित मासिक प्रधानाध्यापक बैठकका अवसरमा सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयको शैक्षिक विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस