सुदूर नेपाललाई विश्वसँग जोड्दै

हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक,६७ सिटसहित रास्वपा अगाडि

२०८२ फाल्गुन २३, ०९:०७ रासस

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म ८३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६७, नेपाली कांग्रेसका नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का दुई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवार गरी एक–एक जना विजयी भएका छन्। यस अवधिसम्म विजयी भएका उम्मेदवारमध्ये रास्वपाका धेरै उम्मेदवार ठूलो मतान्तरले निर्वाचित भएका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित डा. लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका छन्। उनले ५८ हजार ८१४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले आठ हजार ४३५ मत पाएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी भएका छन्। खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत पाएका छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट रास्वपाकी उम्मेदवार रुबिना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका डा. शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा रहेका छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन्।

धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत पाएका छन्।

महोत्तरी क्षेत्र नम्बर १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन्।

बारा क्षेत्र नम्बर ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्।

काठमाडौँका अधिकांश क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने, क्षेत्र नम्बर २ मा सुनिल केसी, क्षेत्र नम्बर ३ मा राजुनाथ पाण्डे, क्षेत्र नम्बर ४ मा पुकार बम, क्षेत्र नम्बर ५ मा सस्मित पोखरेल, क्षेत्र नम्बर ७ मा गणेश पराजुली, क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ, क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल र क्षेत्र नम्बर १० मा प्रदीप विष्ट विजयी भएका छन्।

भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रञ्जित तथा ललितपुर क्षेत्र नम्बर १ बाट बुद्धरत्न महर्जन निर्वाचित भएका छन्। चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्।

नेपाली कांग्रेसका विजयी उम्मेदवार

तेह्रथुम क्षेत्र नम्बर १ बाट सन्तोष सुब्बा, मनाङ क्षेत्र नम्बर १ बाट टेकबहादुर गुरुङ, मुस्ताङ क्षेत्र नम्बर १ बाट योगेश गौचन थकाली, दैलेख क्षेत्र नम्बर १ बाट वासना थापा, डोटी क्षेत्र नम्बर १ बाट भरतबहादुर खड्का, अछाम क्षेत्र नम्बर १ बाट भरतकुमार स्वाँर, सुर्खेत क्षेत्र नम्बर १ बाट विष्णुबहादुर खड्का, जाजरकोट क्षेत्र नम्बर १ बाट खड्कबहादुर बुढा तथा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।

नेकपा (एमाले)

बाँके क्षेत्र नम्बर २ बाट मोहम्मद इश्तियाक राई, बझाङ क्षेत्र नम्बर १ बाट ऐनबहादुर महर र दैलेख क्षेत्र नम्बर २ बाट लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

रुकुम (पूर्वी भाग) क्षेत्र नम्बर १ बाट पुष्पकमल दाहाल तथा रोल्पा क्षेत्र नम्बर १ बाट वर्षमान पुन विजयी भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार

म्याग्दी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मतसहित विजयी भएका छन्। उनले नेकपा (एमाले) का हरीकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीलाई पराजित गरेका हुन्।

कमेन्ट लोड गर्नुस