सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

२०८२ फाल्गुन १९, १०:५४ खबर संवाददाता

भजनीः कर्णाली नदी किनारको बगर क्षेत्र यतिबेला हरियालीले ढाकिएको छ। टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षदेखि नदीको किनार र टापुमा बगरखेती गर्दै आएका छन्। सिँचाइको सहज पहुँच र राम्रो उत्पादनका कारण उनले प्याजखेतीलाई प्राथमिकता दिएका हुन्।

उनका अनुसार बालुवायुक्त जमिनमा प्याजले राम्रो उत्पादन दिन्छ। बर्सेनि १० देखि १२ क्विन्टलसम्म प्याज उत्पादन गर्दै आएका उनले धनिया, मकै, बन्दागोभी र टमाटरसमेत खेती गर्दै आएका छन्। ‘बालुवामा प्याज राम्रो फस्टाउँछ। सिँचाइ सजिलो हुँदा उत्पादन अझ राम्रो हुन्छ,’ उनले भने। उनका अनुसार यसले खेर गइरहेको बगरको सदुपयोग मात्र नभई स्थानीयका लागि आम्दानीको नयाँ स्रोत पनि बनेको छ।

राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्र अहिले प्याजखेतीले भरिएको छ। ढुङ्गारहित बालुवामा साना–साना प्लट बनाएर लहरै प्याज लगाइएको छ। वडा नं ८ फाँटागाउँका करिब ५०–६० घरपरिवारले बगर तथा नदी टापुमा प्याजखेती गर्दै आएका छन्। बर्सेनि यो सङ्ख्या बढ्दो क्रममा छ।

बगर क्षेत्रबाट मात्र वार्षिक करिब ७०० क्विन्टलभन्दा बढी प्याज उत्पादन हुने गरेको छ। एक परिवारले न्यूनतम पाँचदेखि छ क्विन्टलसम्म उत्पादन गर्ने गरेका छन्। स्थानीय सम्झनी चौधरीका अनुसार अन्य खेतबारीको तुलनामा बगरमा लगाएको प्याजले बढी उत्पादन दिने गरेको छ।

बटनपुरकी सम्पुर्नी चौधरीले यस वर्ष पहिलोपटक नदीको टापुमा पाँच केजी प्याज रोपेकी हुन्। अरूले राम्रो उत्पादन गरेको देखेर प्रेरित भएकी उनी अहिले नतिजाप्रति निकै उत्साहित छन्। ‘मैले सोचेभन्दा राम्रो फस्टाएको छ। बालुवाभित्रको जमिन ओसिलो हुँदा घामपानी सन्तुलित मिलेको जस्तो लाग्छ,’ उनले भनिन्।

त्यस्तै, पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेका छन्। सुरुमा घरायसी आवश्यकताका लागि मात्र रोपे पनि आगामी वर्ष व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाएका छन्। बगरमा खेती गरेबापत कसैलाई शुल्क नतिर्नु परेकाले किसान झन् उत्साहित भएका छन्।

अहिले बगरबाट अस्वाभाविक रूपमा आम्दानी हुन थालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ। सामान्य मलखाद र कम मिहेनतमा राम्रो उत्पादन भएपछि किसानले वर्षायामको पीडा बिर्सन थालेका छन्। वर्षात्को समयमा त्रास दिने कर्णाली नदीले हिउँदमा भने त्यही बालुवामार्फत स्थानीयलाई समृद्धितर्फ डोर्‍याइरहेको छ।
 

कमेन्ट लोड गर्नुस