डडेल्धुरामा ‘नेपाल प्रथम’ अभियानअन्तर्गत उम्मेदवारहरूको संयुक्त प्रतिबद्धता
धनगढीः डडेल्धुरा जिल्लामा सञ्चालन भइरहेको नेपाल प्रथम राष्ट्रिय अभियान अन्तर्गत प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गरी विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। निर्वाचनको प्रतिस्पर्धी वातावरणबीच उम्मेदवारहरू एउटै मञ्चमा उभिएर साझा प्रतिबद्धता व्यक्त गर्नुलाई अभियानले राजनीतिक सन्देशका रूपमा प्रस्तुत गरेको छ।
अभियानअन्तर्गत आयोजित कार्यक्रममा डडेल्धुराका प्रमुख दलका उम्मेदवारहरूले “निर्वाचन जनता र राष्ट्रका लागि” भन्ने नारासहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र आम जनता पार्टी**का उम्मेदवारहरूको सहभागिता रहेको थियो।
प्रतिबद्धतापत्रमा राष्ट्रहितलाई केन्द्रमा राख्दै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा आधारित राजनीतिक अभ्यासलाई अघि बढाउने उल्लेख गरिएको छ। भ्रष्टाचार नियन्त्रण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा सार्वजनिक निकायलाई उत्तरदायी बनाउने विषयलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
त्यसैगरी, शिक्षा क्षेत्र सुधार, समयानुकूल नीति तथा पाठ्यक्रम परिमार्जन, गुणस्तरीय र प्रभावमुक्त शैक्षिक वातावरण निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि समेटिएको छ। आवश्यक जनशक्ति उत्पादनमार्फत देशको दीर्घकालीन विकासमा योगदान पुर्याउने विषय उल्लेख गरिएको छ।
युवाशक्तिलाई लक्षित गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना, सिप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम अघि बढाउने प्रतिबद्धता गरिएको छ। राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा उम्मेदवारहरूले जोड दिएका छन्।
विदेश नीतिका सन्दर्भमा राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणलाई आधार मानेर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ। अभियानले निर्वाचनको समयमा साझा न्यूनतम प्रतिबद्धता सार्वजनिक गर्नु नागरिकको चासो र अपेक्षालाई सम्बोधन गर्ने प्रयास भएको जनाएको छ।