सुदूरपश्चिममा निर्वाचनको ९५ प्रतिशत तयारी पूरा
धनगढीः सुदूरपश्चिममा निर्वाचनको ९५ प्रतिशत तयारी पूरा भएको छ। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको ९५ प्रतिशत तयारी पूरा भएको बताएका हुन्।
प्रदेश निर्वाचन कार्यालय धनगढीले मङ्गलवार आयोजित कार्यक्रममा प्रदेशका १६ निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिइएको छ। निर्वाचनका लागि कर्मचारी खटाउने काम सम्पन्न भएको बताउँदै प्रदेश निर्वाचन अधिकारी भट्टले उनीहरूलाई आवश्यक तालिमसमेत दिइएको बताए।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा फागुन ३ गतेबाट सुरू भएको मतदाता शिक्षा फागुन १७ गतेसम्म चल्नेछ। सुदूरपश्चिमका ७३४ वडामै मतदाता शिक्षा कार्यक्रम चलिरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए। 'फागुन ३ गतेदेखि नै कैलालीका १२६ वडासहित प्रदेशको १६ निर्वाचन क्षेत्रका ७३४ वडामा मतदाता शिक्षा कार्यक्रम सुरू भएको छ,' उनले भने, 'मतदाता शिक्षा फागुन १७ गतेसम्म चल्नेछ भने निर्वाचन सम्पन्न गराउन कैलालीमा मात्रै चार हजार पाँच सय कर्मचारी परिचालन हुने भएका छन्।'
निर्वाचनका लागि सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा १५ हजार कर्मचारी खटिने भएका छन्। मतदानमा खटिने कर्मचारीहरूलाई तालिम दिने काम सम्पन्न भएको छ भने निर्वाचन सामग्रीसहित कर्मचारीहरू फागुन १७ गतेभित्र मतदान केन्द्रमा पुग्ने बताइएको छ।
यो पटक प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्रमा मतदान गर्नुपर्ने छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतोमा रातो र समानुपातिकका लागि सेतोमा कालो मतपत्र रहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए।
मङ्गलवार नै निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले 'निर्वाचन र आम सञ्चार विषयक जिल्ला स्तरीय एक दिवसीय अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ। प्रदेश निर्वाचन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, सरोकारवाला निकाय र निर्वाचनसम्बद्ध कर्मचारीहरूको सहभागिता रहेको थियो।
भट्टले निर्वाचन अवधिमा सूचना प्रवाहको शुद्धता, अफवाह नियन्त्रण र मतदातामा सही सन्देश पुर्याउने जिम्मेवारी सञ्चारमाध्यमको रहेको उल्लेख गर्दै निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष सचेत हुनुपर्ने बताए।
अन्तरक्रियामा सहभागीहरूले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाले निर्वाचन प्रक्रियामा पार्न सक्ने असर, तथ्यपरक रिपोर्टिङको आवश्यकता र पत्रकारको पेशागत उत्तरदायित्वबारे धारणा राखेका थिए। छलफलका क्रममा निर्वाचनसम्बन्धी सूचना संकलन तथा प्रकाशन गर्दा स्रोतको विश्वसनीयता, भाषा संयम र निष्पक्षता कायम राख्नुपर्ने विषयमा जोड दिइएको थियो।
यो पटक हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० जना मतदाता रहेका छन्। प्रदेशका एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ।