सुदूर नेपाललाई विश्वसँग जोड्दै

'प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्': मुख्यमन्त्री शाह

२०८२ फाल्गुन ७, ०२:४३ रासस

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अघि बढ्न सबै नेपालीलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको धारणा राखेका छन्।

मुख्यमन्त्री शाहले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि निर्वाचन बाहेक अर्को विकल्प नभएको बताएका छन्। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति उनले सम्मान प्रकट गरेका छन्।

विसं २००७ को क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ।

आजको दिन ऐतिहासिक हो: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा आजको दिन नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि ऐतिहासिक महत्व बोकेको बताएका छन्।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा योगदान गर्ने सहिद परिवार, बेपत्ता, घाइते तथा अङ्गभङ्ग भएका व्यक्तित्वप्रति सम्मान व्यक्त गर्दै उनले जनसमुदाय, नागरिक समाज, राजनीतिक कार्यकर्ता तथा सबै वर्ग–समुदायको योगदानको प्रशंसा गरेका छन्।

प्रजातन्त्र जनताको संघर्ष र सहिदको बलिदानबाट स्थापित भएकाले यो दिन नेपालको इतिहासमा गौरवपूर्ण रहेको उनको भनाइ छ। उनले नागरिक अधिकारको महत्व स्थायी बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताअनुसार नागरिकका अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न यो दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नेपाली जनताद्वारा निर्मित वर्तमान संविधानको आधार विसं २००७ को क्रान्ति रहेको उल्लेख गर्दै उनले यस दिनलाई बिर्सन नहुने बताएका छन्। “प्रजातन्त्र केवल शासन व्यवस्था मात्र होइन, यो जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र सामाजिक न्यायको आधार हो। विगतका संघर्षले हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याएको छ,” उनले बताएका छन्।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता, विकास र समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्न उनले सबैमा आह्वान गरेका छन्।

भदौ २३ र २४ गतेका घटनापछि प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहेको उल्लेख गर्दै उनले निर्वाचनलाई उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन उनले सबैमा आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस