कैलालीमा भन्सार छलि ल्याइएका करिब दुई लाख बराबरका सामग्री बरामद
कैलाली: धनगढी उपमहानगरपालिका–३ स्थित भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विद्युतीय सामग्री प्रहरीले बरामद गरेको छ।
सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य रु। १,८३,५०० बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
बरामद गरिएका सामग्रीमा मल्टिपिस स्क्रु ड्राइभर, मिनी प्रिसिजन स्क्रु ड्राइभर, प्रिसिजन स्क्रु ड्राइभर, फङ्सन स्क्रु ड्राइभर, डिजिटल इलेक्ट्रोनिक स्क्रु ड्राइभर, सोल्डर पेस्ट, सिलिकन कभर, गोल्डेन क्राउन डिस्प्ले तथा ५ इन १ स्क्रु ड्राइभर लगायतका विद्युतीय उपकरणहरू रहेका छन्।
उक्त सामग्री भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको आशंकामा आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।