संघर्षदेखि सफलतासम्म: खच्चड व्यवसायी बामदेब भट्टका छोराको करोडौंको कम्प्युटर व्यापार
धनगढीः वि.सं. २०१६ सालतिर डोटीको गड्सेराबाट अध्ययनको सपना बोकेर भारत पुगेका बामदेब भट्टको जीवन संघर्ष, इमान्दारिता र निरन्तरताको उदाहरण बनेको छ। पञ्जावस्थित लक्ष्मीनारायण संस्कृत कलेजमा अध्ययन सुरु गरेका भट्ट आर्थिक अभावका कारण रोजगारीको खोजीमा दिल्ली पुगे। सुरुमा ग्यारेजमा काम गरे पनि सन्तुष्ट हुन नसकेपछि उनले खच्चडमार्फत सामान ढुवानी गर्ने पेशा रोजे।
टनकपुरबाट डोटी, अछाम, बझाङ र बाजुराका दुर्गम गाउँसम्म खच्चडमा दैनिक उपभोग्य सामग्री पुर्याउँदै उनले करिब ४० वर्ष बिताए। बुढीगंगा जस्ता उर्लंदा खोलाहरू तर्दै, हिउँ–पानी र चर्को घाम सहँदै उनले निरन्तर श्रम गरे। सुरुमा दैनिक ज्यालादारीमा काम गरेका भट्टले पछि आफ्नै पाँच वटा खच्चड किनेर व्यवसाय थाले। ऋण तिर्न डेढ वर्ष लागे पनि उनले हार मानेनन्।
कामका क्रममा उनले घाटा र धोका पनि व्यहोरे। केही व्यापारीले पैसा नदिँदा आर्थिक संकटमा परे पनि उनले कसैको पैसा रोकेनन्। इमान्दार छविकै कारण व्यापारीहरूको पहिलो रोजाइ बन्न सफल भए। सरकारी कार्यालयदेखि खप्तड बाबाको आश्रमसम्म सामान ढुवानी गर्ने अवसर उनले पाए। दुर्गम क्षेत्रमा २० वर्षसम्म काम गर्ने खच्चडको भरमा उनले आफ्नो जीवन उकासे।
समाजका केही मानिसले ‘बाहुनको छोराले खच्चड व्यापार गर्यो’ भन्दै आलोचना गरे पनि उनले त्यसको प्रवाह गरेनन्। मेहनतकै कमाइबाट बुबाबाजेको धितोमा राखिएको जमिन फिर्ता लिए।
सशस्त्र द्वन्द्वपछि भने उनको व्यवसाय क्रमशः घट्दै गयो। उमेर र कामदार अभावका कारण उनले पेशा छाडे। त्यसपछि परिवार धनगढी बसाइँ सरेको थियो। आर्थिक अभावकै बीच उनका छोराहरू धर्म र डिल्लीले सानैदेखि बुबाको संघर्ष देखे र त्यही प्रेरणाले व्यवसायिक यात्रा सुरु गरे।
धर्मले मासिक ४५ सय रुपैयाँमा काम सुरु गरे भने डिल्लीले दैनिक ३० रुपैयाँमा इलेक्ट्रोनिक्स पसलमा काम गर्दै सीप सिके। डाटा इन्ट्रीबाट कमाएको १० हजार रुपैयाँबाट उनले ‘एस कम्प्युटर्स एण्ड सप्लायर्स’ दर्ता गरे। सुरुमा झोलामा सामान बोकेर अफिस–अफिस धाए। साथीहरूले ‘झोले व्यापारी’ भनेर जिस्क्याए पनि उनले निरन्तरता छाडेनन्।
०७० सालमा तीन लाख रुपैयाँबाट सुरु भएको व्यापार अहिले करोडौंमा पुगेको छ। हाल उनीहरू होलसेल तथा रिटेल व्यवसाय सञ्चालन गर्दै कार्यालयसम्बन्धी सम्पूर्ण इलेक्ट्रोनिक र स्टेशनरी सामग्री उपलब्ध गराइरहेका छन्। भविष्यमा उत्पादनमुखी उद्योगतर्फ अघि बढ्ने योजना उनीहरूको छ।
बुबाको संघर्ष नै आफ्नो जीवनको प्रेरणा भएको धर्म र डिल्ली बताउँछन्। बामदेब भट्ट भने आज आफ्ना सन्तानको सफलता देखेर आफूले यही जीवनमा स्वर्ग देखेको अनुभूति सुनाउँछन्।