सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका रानाथारू बस्तीका मतदाताको गुनासो ‘हरेक चुनावमा आश्वासन मात्रै’

२०८२ फाल्गुन ४, ०२:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् ।

बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् । 

गाउँमा भएको समस्या समाधान गर्ने भनेर दल र नेताले हरेक चुनावमा आफ्नो समुदायको भोट बटुल्दै आए पनि जितेर गएपछि समस्या समाधानतिर ध्यान नदिने गरेको सो समुदायका मानिसको गुनासो छ । 

धनगढी उपमहानगरपालिका–७, मनेहरागाउँका विवेक रानाले भने, “नेताले आएर यो गर्ने, त्यो गर्ने भनेर भोट माग्छन् तर जितेर गएपछि भनेको काम गर्दैनन् । खाली झुटो आश्वासन मात्रै दिने गरेका छन् ।” 

उनले आफ्नो गाउँमा कुलो र सडकको समस्या रहेको उल्लेख गरे। गाउँको मुख्य सडक अहिलेसम्म बन्न नसकेको रानाको गुनासो छ । 

मनेहरा–भुइँयाघाट जोड्ने सडक धेरै ठाउँमा बिग्रिएको छ । सोही सडकको मनेहरागाउँ खण्डमा राम्रो बाटो छैन । कालोपत्रे सडक निर्माण गर्नका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएर नेताले विगतको चुनावमा भोट मागे पनि जितेर गएपछि बिर्सेको स्थानीय चमरु रानाले गुनासो गरे।

उनले भने, “बजेट उपलब्ध गराउने भनेका थिए, तर अहिलेसम्म सडक निर्र्माणका लागि बजेट आएन । बजेट नभएर सडक बनेको छैन ।” 


सडक निर्माणका लागि डिपिआर भए पनि काम नभएको स्थानीयको गुनासो छ । यसै गरी भुइँयाघाट–धनगढीगाउँ जोड्ने कृषि सडक पनि बेहाल अवस्थामा छ । २०७४ सालको निर्वाचनदेखि चुनावी मुद्दा बन्दै आएको यो सडक बिग्रेको कैयौँ वर्ष भइसकेको छ । नेताले सडक बनाउने भनेर भोट मागे पनि काम नभएको मनहेराकै वीरमति रानाले गुनासो गरिन्। 

कैलालीको क्षेत्र नम्बर ५ मा रानाथारू समुदाय निर्णायक मानिन्छ । बस्तीमा विकासका लागि प्राथमिकता दिने उम्मेदवारलाई भोट दिने यो समुदायका मतदाताको भनाइ छ। -गोरखापत्र 

कमेन्ट लोड गर्नुस